
अत्तरिया – सुदूरपश्चिमको प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल कैलालीको गोदावरी धाममा १०८ धारा बनाउन ट्याङ्की निर्माण गरिएको छ । प्रदेश सरकारको १५ लाख बजेटबाट गोदावरी नगरपालिकाले उपभोक्ता समितिमार्फत उक्त ट्याङ्की निर्माण गरेको हो ।
गोदावरी धामको मुख्य, प्राचिन मन्दिर प्रवेश गर्ने सिँढीको बायाँतर्फ ट्याङ्की निर्माण गरिएको हो । मन्दिर नजिकै रहेको प्राचिन धाराको पानी ट्याङ्कीमा जम्मा गरि लिफ्टिङ गरेर मन्दिर परिसरमा पुर्याउने र १०८ धारा निर्माण गर्ने धारणासहित उक्त ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेक खड्काले बताएका छन् ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट ट्याङ्की मात्रै निर्माण सम्पन्न भएको भने आगामी वर्षका लागि यो योजनामा बजेट नै विनियोजन गरिएको छैन । धारा निर्माण गर्न बजेट नआए यो योजना अधुरो रहन जाने उपभोक्ता समितिका अध्यक्ष खड्काको भनाई छ ।
नदीको छेवैमा निर्माण गरिएको उक्त ट्याङ्की कति सुरक्षीत रहने हो भन्ने आशंका समेत प्रत्यक्षदर्शीहरुले गर्ने गरेका छन् । तर गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्का भने आरसीसी गरि निर्माण गरिएको हुँदा ट्याङ्की सुरक्षीत नै हुने बताउँछन् ।
प्रदेश सभा सदस्य विष्ट भन्छिन् – समन्वय नै गरिएन
कैलाली क्षेत्र नम्बर ४ की प्रदेश सभा सदस्य खेमा देवी विष्टले गोदावरी धाममा १०८ धारा निर्माण गर्न उक्त योजनामा बजेट विनियोजनको अगुवाइ गरेकी हुन् । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीको आग्रहमा विष्टले आथिर्क वर्ष २०८१/८२ को बजेटमा उक्त योजना समावेश गरेकी थिइन् ।
२०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भलाई समेत लक्षित गरि स्नानका लागि १०८ धारा निर्माण गर्ने योजना अघि सारिएको गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले बताए । उनका अनुसार नदीमा स्नान पश्चात १०८ धारामा पनि स्नान गर्न सकिने गरि कमल बाटिका नजिक निर्माण गर्ने योजना माग गरिएको थियो ।
प्रदेश सभा सदस्य विष्टले योजना हाल्ने र निर्माण गर्ने पक्षबिच समन्वय नहुँदा उपयुत्त स्थान छनोट हुन नसकेको बताइन् । योजना पुरा हुनेगरि बजेट नआउँदा ट्याङ्की पनि सुरक्षीत नरहने हो की भन्ने उनले शंका व्यक्त गरिन् ।
उनले पवित्र धार्मीक स्थलमा रहेको उक्त योजना सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताइन् । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी पौराणीक स्थल भएकोले योजना पुरा गर्न थप बजेट व्यवस्थापनका लागि आफ्नो प्रयास रहने बताएका छन् ।















