सुगम गोदावरीको दुर्गम चाँप, सल्ली : सुत्केरी व्यथा लागेकी महिलालाई अढाई घण्टा स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याइयो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १२ मा रहेको चाँप सल्लीसम्म पुग्ने सडक वर्षाका चार महिना वर्षेनी अवरुद्ध हुन्छ । त्यसैले चाँप, सल्लीका गर्भवती महिलाहरुलाई भेट्न चाँप, सल्ली आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु घरमै पुग्ने गर्दछन् । चाँप, सल्ली आधारभूत स्वास्थ्य केन्द्रबाट सल्ली गाउँसम्म पुग्न अढाई घण्टा पैदल हिँड्नुपर्दछ ।

सल्लीकी १८ वर्षीय निर्मला ढाँट गर्भावस्थाको अन्तिम महिनामा थिइन् । चाँप, सल्ली आधारभूत स्वास्थ्य केन्द्रमा नियमित गर्भ जाँच गराइरहेकी उनको साउन पहिलो हप्ता सुत्केरी हुने मिति स्वास्थ्यकर्मीले तोकेका थिए । कार्यालयको रजिस्टरमा उल्लेख गरिएको यहि तथ्याङ्क नियालेर स्वास्थ्य केन्द्रका प्रमुख रविन्द्र बोहरा आइतबार बिहानै निर्मलाको स्वास्थ्य अवस्था बुझ्ने,उनको परिवारलाई भेट्ने र आवश्यक सुझाव दिएर आउने भनेर निस्किए ।

nisarga

त्यहाँ पुग्दा निर्मला निन्याउरो अनुहार बनाएर बसिरहेकी थिइन् । सासु र श्रीमान पनि घरमै थिए । बोहराले निर्मलाको अवस्था बुझ्दा उनलाई शनीबार राती देखि नै सुत्केरी व्यवथा लागेको रहेछ । बाटोघाटोको समस्याकै कारण उनी अस्पतालसम्म नआएकी रहिछिन् । “राती देखि नै व्यथा लागेको रहेछ तर टाढा छ, बाटो छैन, सवारी साधन छैन, घरमै सुत्केरी भइहाल्ला भनेर उहाँहरु घरमै बसिराख्नुभएको रहेछ”, बोहराले भने ।

बोहरा पुगेपछि भने उनले ढिलो नगरी अस्पतालसम्म पुर्‍याउने बन्दोबस्त गरे । चाहिएको बेला सहज होस् भनेर स्वास्थ्य केन्द्रले त्यहाँका सबै टोलमा एउटा/एउटा स्ट्रेचर राख्ने गरेको छ । त्यहि स्ट्रेचरमा बोहरासहितका चार जनाले अढाई घण्टा बोकेर निर्मलालाई गोदावरी स्वास्थ्य केन्द्रमा लयाए । त्यहाँ आइतबार राती निर्मलाले सामान्यरुपमै आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् ।

अहिले निर्मला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सोमबार नै घर फर्किसकेको बोहराले बताएका छन् । “पहिलो बच्चा, बेलैमा अस्पताल नपुगेको भए खतरा पनि हुनसक्थ्यो स्ट्रेचरमा बोकेरै भएपनि सुरक्षीत प्रसुती गराउन सफल भयौँ, बोहराले भने । जिल्ला समन्वय समितिहरुले दिएको सूचनाका आधारमा गरिएको भनिएको वर्गीकरणमा सरकारले गोदावरी नगरपालिकासहितका सुदूरपश्चिमका चार स्थानीय तह सुगम नगरपालिका अर्थात् ‘घ’ वर्गमा राखिएका छन् ।

तर सुगम स्थानीय तहको दुर्गम वडा भनेर चिनिने वडा नम्बर- १२ का बासिन्दालाई भने सडक सुविधा नभएकै कारण स्ट्रेचरमा बोकेर अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको छ । यहाँका नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु प्रयासरत रहेको चाँप, सल्ली आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख बोहराको भनाई छ । वडा नम्बर १२ का अध्यक्ष भिम बहादुर खड्काले सुत्केरी निर्मलालाई तीन चार महिनासम्म चाँप, सल्ली स्वास्थ्यकेन्द्र नजिकै बस्न सुझाव दिएको बताए ।

वर्षायाममा बाटो बिग्रदा यहाँका नागरिकले वर्षेनी दुख पाउने गरेको उनले बताए । “चाँप, सल्लीसम्म जोड्ने सडक वर्षायाममा अवरुद्ध हुन्छ । वर्षा सकिएपछि हामीले बाटो सरसफाई गर्ने गरेका छौं, उनले भने, त्यसका लागि नगरपालिकाले हरेक वर्ष १० लाख रकम छुट्याउने गरेको छ ।” स्थानीय सरकारसंग ठुलो आथिर्क स्रोत नहुने हुँदा पक्की बाटो निर्माण गर्न नसकिएको उनको भनाई छ ।

यस्तै समस्याका कारण सल्लीमा बर्थिङ सेन्टर स्थापना गर्ने भनिए पनि वर्षेनी त्यहाँको जनसङ्ख्या घटिरहेकोले निर्माण गरिएको भवन समेत प्रयोगमा नल्याइएको उनले बताएका छन् । “चाँप, सल्लीका नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गरेर हामीले स्वास्थ्यको एउटा भवन निर्माण गरेका थियौं, श्रीमान श्रीमती नै भारत जाने गरेकोले तर त्यहाँको जनसङ्ख्या वर्षेनी घट्दै गइरहेको छ । त्यसैले स्वास्थ्य संस्थाको जनशक्तिलाई पनि मध्यनजर गरेर त्यो भवन सञ्चालनमा ल्याउन सकेका छैनौं, खड्काले भने । ”