
दार्चुला – नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर यहाँका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।
दार्चुलाको लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम–१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई लागेको थियो कि यो जुनीमा नागरिकता पाउँदिनँ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरुको घरमै गएर नागरिकता प्रदान गरको छ ।

९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको नाथले बताए ।
लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बताइन् ।
पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।















