
अत्तरिया – सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका मेला आज लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ ।
बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी, जुम्ला र धनगढीबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।

दर्शनका त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै सबै मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
बडिमालिकाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित देशैभरबाट हजारौँ दर्शनार्थी सहभागी हुने गरेका छन् । बडिमालिकामा यस वर्ष नेपाली सेनाले प्राचिन कलाको मन्दिर समेत निर्माण गरेको छ ।















