
बडिमालिका दर्शन गरी फर्किने क्रममा भीरबाट लडेका व्यक्तिको शव एक दिनपछि खोँचबाट निकालिएको छ।
बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानी बिहीबार राती ८ बेजे भिरबाट लडेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नारायणटारका ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको थियो।

मृत्यु भएका ओझा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिए।
उनी बडिमालिका दर्शनपश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर झन्डै सात सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ खोँचबाट शव निकालेको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरिको सहितको संयुक्त टोली खटिएको थियो।
शुक्रबार आश्रित गुल्म बाजुराबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज समेत त्यसतर्फ पठाइएको डिएसपी थापाले बताए। त्यसपछि खोँचबाट शव निकालिएको थियो। शव काठमाडौं भने लगिएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी हवारीका अनुसार शव लिन गएको सेनाको हेलिकप्टर घटनास्थलमा पुग्न नसक्ने भनेको छ।
‘हेली बाजुरामै छ । तर शव भएको ठाउँसम्म पुग्न सक्दैनौं भनेका छन्। सम्म ठाउँमा ल्याइदिनुपर्यो भनेका छन्,’ उनले भने।
सम्म ठाउँमा पुर्याउन पनि बाटोको समस्या रहेको डिएसपी हवारीले जानकारी दिए। ‘बाटो अफ्ठ्यारो छ। सम्म ठाउँमा पुर्याउन पनि समय लाग्न सक्छ,’ उनले भने।















