
धनगढी – विशेषज्ञ वडा क्लिनिकमा धनगढी-१३ कना २५१ जनाको निःशुल्क उपचार भएको छ। आइतबार १३ नम्बर वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन भएको हो।
धनगढी उपमहानगरपालिकाले हरेक महिना क्रमशः सबै वडामा २०७९ साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै आएको छ। कात्तिक २३ गते १३ नम्बर वडामा क्लिनिक सञ्चालन भएको हो।

विशेषज्ञ वडा क्लिनिकमा बिरामीको नि:शुल्क चेकजाँच हुन्छ। विशेषज्ञ चिकित्सकबाट बिरामीको परीक्षण हुने गरेको छ। जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ र आँखा, नाक, कान र घाँटी रोग विशेषज्ञले समेत समय-समयमा उपचार सेवा दिने गरेका छन्।
यो पटक १३ नम्बर वडामा १२३ जनाले जनरल फिजिसियन सेवा, ५० जनाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा र ७८ जना बिरामीले आँखा रोग सम्बन्धी सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले वडा क्लिनिकमा नि:शुल्क प्रयोगशाला सेवा, इसिजी सेवा, अल्ट्रासाउन्ड सेवा, गर्भवती जाँच सेवा दिने गरेको छ।
आइतबार ३० जनाले प्रयोगशाला सेवा, ९ जनाले इसिजी सेवा, २७ जनाले अल्ट्रासाउन्ड सेवा, ४४ महिलाले गर्भवती सेवा तथा ६७ जना ७० वर्षमाथिका बिरामीको उपचार गरिएको उपमहानगरपालिकाले जनाएको छ।















