
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित उत्तर वनखेतमा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भौतिक पूर्वाधार विकासमा फड्को मारेको छ ।
क्याम्पसको भवन निर्माण सम्पन्न गर्न २०७० सालमा क्याम्पसको प्राङ्गणमा महायज्ञ आयोजना गरिएको थियो । हाल क्याम्पसमा दुई वटा थप भवनहरु पनि निर्माण गरिएका छन् ।

परिसरमा बनाइएका क्यारी र रोपिएका फूल तथा बिरुवाहरुले क्याम्पसको रुपरङ्ग नै फेरिएको महसुस गर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०६३ सालमा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो ।
क्याम्पसले विस २०७५ देखि सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत विभिन्न संकायहरु सञ्चालन गर्दै आइरहेको छ ।
मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन/अध्यापन हुँदै आएको क्याम्पसमा हाल एक हजार पाँच सय ७७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ४२ जना प्राध्यापक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।
क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेका छन् ।
भविष्यमा विज्ञान,सिभिल कम्प्युटर लगायतका सङ्कायहरु थप गर्ने क्याम्पसको योजना रहेको छ ।























