
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ अत्तरियामा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाकी अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षता तथा प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै देवकोटाले सहकारीको विकासका लागि शेयर सदस्यको भूमिका महत्वपूर्ण हुने बताइन् । सहकारीले बचत गर्ने बानीको विकास हुनुकासाथै समस्या परेका बेला सहजै ऋण पनि प्रदान गर्ने भएको हुँदा सहकारी फाईदाजनक रहेको उनको बताइन् । उनले शेयर सदस्यको ईमान्दारीता तथा कर्मचारीको महिनेतका कारण सहकारी मुनाफा आर्जनमा सफल भएको बताईन् ।


संस्थाले गत आर्थिक वर्षमा ४ लाख ८४ हजार रुपिँया नाफा आर्जन गरेको छ । २०६९ सालमा स्थापना भएको सहकारीमा हाल ७४९ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ४० लाख ५० हजार ६०० रुपियाँ रहेको छ ।
साधारणसभामा विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । सहकारीकी उपाध्यक्ष सकुन्तला साउँदको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सह सचिव कल्पना जोशीले गरेकी थिइन् । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष बोहराले प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन लेखापाल अशोक विकले प्रस्तुत गरेका थिए ।















