
सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन् ।सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै अर्थमन्त्री खनालले सरकार निर्वाचन गराउन पूर्ण तयार रहेको बताए ।
अहिलेसम्म सबैभन्दा धेरै दलहरू निर्वाचनमा सहभागी हुँदै गरेको उल्लेख गर्दै उनले कसैले पनि चुनाव बहिस्कारको कुरा नगरेको टिप्पणी गरेका थिए ।

‘सबैलाई निर्वाचनमा भाग लिन पाउने अधिकार छ । अहिले सबैभन्दा धेरै दल सहभागी छन् । अहिले चुनाव बहिस्कार गर्ने कोही छैनन् । तोकिएकै समयमा निर्वाचन हुनेमा सरकार विश्वस्त छ ’ उनले भने ।
उनले केही दलहरू निर्वाचनको सुरक्षामा चिन्तित रहेको उल्लेख गरेका थिए ।
‘निर्वाचनमा जन सबै दलहरू तयार भइरहेका छन् । केही दलहरूबाट सुरक्षाको कुरा आएको छ । सरकारले सबै सुरक्षा निकायसँग समन्वय गरिसकेको छ ’ उनले भने, ‘विगतमा जस्तो असुरक्षा यस पटक हुँदैन । ’
अर्थमन्त्री खनालले जेनजी युवाहरूको माग सम्बोधन गर्ने सरकार गठन गर्ने गरी मतदान गर्न पनि मतदाताहरूलाई आह्वान गरेका थिए । ‘आगामी सरकारले नव युवा पुस्ताले मागेको शासन ल्याउने छ , भ्रष्टाचार मुक्त शासन कायम गर्ने सरकार बनाउनु पर्छ’ उनले भने , ‘यस्तो व्यक्तिहरूको सरकार बनाउन सहयोग गर्नुपर्छ जसले प्रदेशको विकास गर्नुपर्छ ।’
सरकार, दल र नागरिक सबैले निर्वाचनमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।
अहिले विभिन्न समस्याहरू रहेको भन्दै सरकारले क्रमिक रूपमा सुधारको प्रयास गरिरहेको बताएका थिए । तर, सबै समस्या पुरा गर्न सरकार असमर्थ रहेको अर्थमन्त्री खनालले बताए ।
सुदूरपश्चिम विकास क्रममा पछाडि पारिएको उल्लेख गर्दै आगामी सरकारले प्रदेशको विकास र संवृद्धिमा चासो दिनुपर्ने बताएका थिए ।
‘यहाँ ७ हजारदेखि १० हजार मेगावाटको सम्भावना छ । पर्यटनको पनि ठुलो सम्भावना छ तर उपलब्धि भएको छैन । उत्तर दक्षिण सडक बन्न सकेको छैन । उत्तर दक्षिण सडक नबन्दासम्म विकासको गति अगाडी बढ्न सक्दैन ’ उनले भने ।
विगतको सरकारले नागरिकले चाहेको जस्तो विकास गर्न नसक्दा जेनजी आन्दोलन भएको अर्थमन्त्री खनालको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले सरकारले आर्थिक विकास, सुशासन र संवृद्धिलाई पनि महत्त्व दिन आवश्यक रहेको बताएका थिए । अहिले केही सुधारको सङ्केत देखिएको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो ।
‘उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेर सुझावको आधारमा कानुन संशोधन भएका छन् । जसले केही सहज बनाएको छ ’ उनले भने, ‘अझै निजी क्षेत्रलाई साथमा बोकेर सरकार अगाडि बढ्नु पर्छ।’
सुदूरपश्चिम प्रदेशमा ठुलो सम्भावना रहेको बताउँदै तीनै तहको सरकारले त्यसमा ध्यान दिनु पर्ने अध्यक्ष ढकालले बताए । उनले आफूले सबैभन्दा ठुलो पर्यटन पूर्वाधार कैलालीमा बनाउन लागेको भन्दै त्यो संरचनाले सुदूरपश्चिमको पर्यटन विकासमा ठुलो टेवा पुग्ने दाबी गरे ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा ठुलो सम्भावना हुँदा हुँदै पनि विकासले गति पाउन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताएका थिए । प्रदेशमा लगानी बढाउन निजी क्षेत्रलाई मेयर हमालले आग्रह गरेका थिए ।
अर्थमन्त्री खनाललाई निर्वाचनभन्दा पहिले नै गेटा मेडिकल कलेज सञ्चालन गर्न मेयर हमालले आग्रह गरे ।
‘चिसापानी मङ्गलसेन सडक , धनगढी दिपायल द्रुतमार्ग, महाकाली कोरिडोर निर्माणमा सरकारले तदारुकता देखाउनु पर्छ ’ उनले भने, ‘यहाँको पूर्वाधार विकासमा बजेट थप हुनुपर्छ । प्राथमिकताका आधारमा योजनाहरू कार्यान्वयन हुनुपर्छ ।’
व्यवसायीहरू सबैभन्दा धेरै मारमा रहेको भन्दै उनले उद्योग व्यवसायहरूको समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम महोत्सव सुदूरपश्चिमका समस्या सम्बोधनका लागि शालीन आन्दोलन रहेको बताएका थिए ।
१९ औँ महोत्सव उद्घाटन गर्दा पनि १९ वर्ष पहिलेदेखिका समस्या सम्बोधन हुन नसक्नु दुखद भएको उनले बताए । उनले प्रदेशको सम्भावनामार्फत देशनै संवृद्ध बन्न सक्ने बताएका थिए ।
आजबाट उद्घाटन भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । ७ लाख भन्दा धेरैले अवलोकन गर्ने महोत्सवमा १५ करोड बढीको कारोबार हुने बताइएको छ । उद्घाटन समारोहमा विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो ।














