साढे चार दशकको कम्युनिष्ट यात्रापछि गोकर्ण भट्टको मोड : एमाले परित्याग गर्दै रास्वपामा प्रवेश

Image
maya metro

अत्तरिया – २०३६ सालदेखि कम्युनिष्ट राजनितिमा सक्रिय रहेका गोकर्ण भट्ट आज राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) प्रवेश गरे । पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । नेकपा एमालेका उप महासचिव एवम् सुदूरपश्चिम इन्चार्ज समेत रहेका लेखराज भट्टका भाइ गोकर्ण भट्टले गत कार्तिक १४ गते नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरेको घोषणा गरेका थिए। जनविरोधी पार्टीको सदस्य भएको नाताले आत्मआलोचित हुँदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य तथा एमालेको पार्टी सदस्यतासमेत परित्याग गरेको घोषणा भट्टले गरेका थिए ।

भट्टको राजनितिक जीवनका उतारचढाव

nisarga

२०३६ सालमा नेकपाको चौथो महाधिवेशनमा जिल्ला सदस्यबाट राजनिति सुरु गरेका भट्ट संधैजसो चर्चामै रहने व्यक्ति हुन् । २०३७ सालमा अनेरास्ववियु बाँके जिल्ला सचिव हुँदै विद्यार्थी राजनितिमा प्रवेश गरेका उनी २०३८ सालमा छैटौँ राष्ट्रिय सम्मेलनमा काठमाडौँ जाँदै गर्दा पक्राउ परे । पक्राउ पछि एक महिना डिल्लीबजार कारागार र दुई महिना विरगंज कारागारमा कठिन समय बिताउनु परेको भट्ट सम्झिन्छन् ।

आफूहरु निर्दोष रहेको र तुरुन्तै रिहाइ हुनुपर्ने माग गर्दै कारागारभित्रै अनसन बसेका भट्ट आफू संधै अन्याय, अत्याचार र सामन्तवादको विरुद्धमा आवाज उठाउँदै आएको बताउँछन् । २०५१ सालमा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा पक्राउ परेका भट्ट त्यसबेला पनि १०० रुपैयाँ धरौटीमा रिहा भए । २०५२ सालमा जनयुद्धको घोषणा भयो । त्यस समयमा भुमिगत हुनु नपरे पनि अन्याय, अत्याचार र सामन्तवादको विरुद्धमा आवाज उठाउँदै आएकोले आफू संधै राज्यको निशानामै परेको उनी बताउँछन् ।

२०५९ सालमा तत्कालिन शाहि सेनाकै षडयन्त्रबाट आफूले जीवनसाथी गुमाउनु परेको भट्टले दावी गर्दै आइरहेका छन् । २०७० मा माओवादी केन्द्रको जिल्ला कमिटि सदस्यमा निर्वाचित भएका भट्ट माओवादीका गोदावरी नगर ईन्चार्ज पनि थिए । २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा गोदावरी नगरपालिकाबाट नगर प्रमुख पदका उमेदवार बने । त्यसबेला नेकपा एमालेका हरिसिंह साउँदसंग पराजित भए । २०७५ जेठ ३ गते माओवादी र एमालेले पार्टी एकता गरे ।

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भट्टले गोदावरी नगर अध्यक्षको जिम्मेवारी सम्हाले । तीन वर्ष पनि नपुग्दै नेकपा फुटेपछि भट्ट एमालेमै रहे । त्यसबेलामा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले किन पार्टी एकता गरे र किन पार्टी फुटाए भन्ने आफूले अहिलेसम्म पनि भेउ नपाएको भट्ट बताउँछन्। २०७९ मा भएको स्थानीय तहको दोस्रो निर्वाचनमा एमालेबाटै नगर प्रमुखका उमेदवार बनेका भट्टले दोस्रोपटक पनि हार व्यहोरे । “पार्टीभित्रकै अन्तरघात तथा मासुभात र रक्सी खुवाउन नसक्दा पराजित भए,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, पराजित भए पनि राजनीतिक प्राणी भएपछि विजयी–पराजयलाई सहर्ष स्वीकार गर्नु पर्छ भन्ने मान्यता बोकेर पार्टीको काममा निरन्तर लाग्दै आएको थिए ।”

लगालग भोगेका हारबाट पनि उनी निरास भएनन् । राजनितिक जीवनमा विजयभन्दा पराजय धेरै व्यहोरेका भट्ट २०८० मा भएको एमालेको प्रदेश अधिवेशनबाट भने लोकप्रिय मतका साथ प्रदेश सदस्यमा निर्वाचित भए । लगत्तै उनी प्रदेश सचिवालय सदस्यमा पनि मनोनित भए । करिब साढे चार दशकको कम्युनिष्ट यात्रापछि भट्टले गत कार्तिकमा एमाले परित्याग गरे । गत भदौ २३ गते निर्दोष युवाहरुको ज्यान लिइएको र २४ गते घुसपैठ गरी देशलाई खरानी बनाइएको आरोप उनको छ ।

यसको जिम्मवारी मुलुक सञ्चालनको जिम्मेवारी लिएका राजनीतक पार्टी र त्यसको नेतृत्वले लिनु पर्ने भएपनि सामान्य मानविय समवेदना समेत नदेखाएकोले आफू एमाले परित्याग गर्न बाध्य भएको भट्ट बताउँदै आएका छन् । एमालेमा चरम गुटबन्दी मौलाएको र आफूलाई पूर्व माओवादी भनेर लाञ्छना लाउने गरिएको भट्ट गुनासो गर्छन् । एमालेमा रहदाँ आफूले कहिल्यै सम्मानजनक व्यवहार नपाएको र स्वाभिमान गुमाएर बस्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।

एमाले परित्यागपछि रास्वपाकै एक नेताले आफूलाई तपाइँजत्तिको मान्छे राजनितिमा आउनुपर्छ भनेर सम्पर्क गरेको भट्टको भनाई छ । त्यसबाहेक गोकर्ण भट्ट जत्तिको संघषशिल व्यक्ति रास्वपामा आउनुपर्ने पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, ज्ञानेन्द्र महता लगायतले पनि पहल गरेको सुन्दा आफूलाई खुसी लागेको र मलाई कसैले महत्व दिन्छ भने किन नजाने भनेर पार्टी प्रवेश नै गरेको भट्ट बताउँछन् । हिजोका दिनमा आफूले रास्वपाको विरोध गरेको भए पनि बुझ्दै जाँदा विचारधारा र उदेश्य मन परेको उनको भनाई छ ।

समाजसेवामा रमाउने भट्टले पार्टीबाट अलग्गिएर स्वतन्त्र नागरिक बनेर समाजसेवा गर्ने सोच बनाए पनि स्वतन्त्र भएर नागरिक र नागरिकका मुद्धासंग जोडिन असहज हुने देखिएकोले पार्टी समात्नु परेको पनि तर्क गरे । “म माथि विश्वास गर्ने, म कहाँ आफ्ना विभिन्न समस्या लिएर आउने व्यक्तिहरु यो समाजमा थुप्रै हुनुहुन्छ, भट्टले सुदूर टाईम्ससंग कुरा गर्दै भने, उहाँहरुका समस्या समाधान गर्न एक नागरिक भएर मात्रै असहज हुँदो रहेछ भन्ने यो डेढ महिनाको अवधीमा महसुस पनि गरे, त्यसैले समाजसंग प्रत्यक्ष पहुँच बनाउन पनि पार्टीसंग जोडिएको हुँ ।” नेपालमा अब कम्युनिष्ट विचारधाराको अन्त्य भएको भट्टको निष्कर्ष छ ।

“नेपालमा अब कम्युनिष्ट विचारधाराको अन्त्य भइसक्यो, कसैले हामी कम्युनिष्ट हौँ भन्छ भने त्यो पुरानो बोतलमा नयाँ रक्सी भनेजस्तै हो । कम्युनिष्टको साइनबोर्ड मात्रै राख्दैमा कम्युनिष्ट हुँदैन, भट्टले भने, ।” रास्वपाबाट उमेदवार बन्ने वा नबन्ने विषयमा भने अहिले नै केहि नसोचेको र पार्टीले आफ्नो क्षमता हेरेर दिएको जिम्मेवारी सधैँ सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । आफ्नै सहोदार दाजुसंग भने आफ्नो पछिल्लो राजनितिक उतारचढावको विषयमा कुनै सल्लाह नभएको उनको भनाई छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले रास्वपालाई सुदूरपश्चिममा एक नम्बर पार्टी बनाउने घोषणा पनि गरे । आफूलाई सधैं जोखिम मोल्न चाहने व्यत्तिका रुपमा उभ्याउने भट्ट आज जुन धारमा उभिएका छन्, त्यो अन्तिम गन्तव्य हो वा अर्को मोडको सुरुवात । यो समयले नै बताउनेछ ।