
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीको १५ औं अभिभावक दिवस–२०८२ सम्पन्न भएको छ ।
बिहिबार (आज) महाविद्यालयको प्राङ्गणमा सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा सैनिक आवासीय महाविद्यालय सञ्चालन समितिका अध्यक्ष उपरथी किरण केसीको प्रमुख आतिथ्यतामा १५ औं अभिभावक दिवस सम्पन्न भएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै महाविद्यालयका व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानाले महाविद्यालयले व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिँदै अतिरित्त क्रियाकलापको गुणस्तरलाई समेत बढाउँदै लैजाने बताए ।
विद्यार्थीको चौथर्फी विकासका लागि विद्यालयले विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै उनले राष्ट्र र राष्ट्रियताप्रति समर्पित, योग्य तथा क्षमतावान नागरिक उत्पादनका लागि महाविद्यालयले कुनै कसर बाँकी नराख्ने बताए ।
प्रविधिको युगलाई मध्यनजर गर्दै दक्ष शिक्षकको व्यवस्थापनका लागि पनि विद्यालय लागिपरेको रानाले बताए । कार्यक्रमका प्रमुख अतिथि पृतनापति केसीले विद्यार्थीलाई समय सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताए ।
अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु राखेका थिए ।
विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका अभिभावक,पूर्व विद्यार्थी लगायत सहभागि रहेको कार्यक्रममा महाविद्यालयले वर्षभरीका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरेको थियो ।















