
अत्तरिया – कैलालीको गोदावरीधाममा पुस १३ गतेदेखि बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ।
गोदावरीधाममा आयोजना हुने मकर मेलाको समुद्घाटन २०८२ साल पुस ३० गते दिउँसो १ बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजा–आजासहित गरिने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताएका छन् ।

मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, गुरुकुलका वटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहने जोशीले बताएका छन्।
पुस ३० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने बाह्रराशि दर्शन मकर मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्।
गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीका अनुसार उक्त धार्मिक अनुष्ठानमा श्रद्धालु भक्तजनहरु तथा विभिन्न सामाजिक र धार्मिक संघ–संस्थालाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ।














