
अत्तरिया – कैलालीको गोदावरी– ७ स्थित हरैयामा माघ १६ देखि माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी नगर भलमन्सा (बरघर) समितिले माघ १६ गतेदेखि १८ गतेसम्म माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको समितिका अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिएका छन् ।

थारु एवम् राना थारु संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
गोदावरी–७ स्थित थारु संग्रहालयमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विभिन्न कला प्रस्तुतिहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, साथै झाँकी प्रदर्शन समेत हुने स्थानीय बल बहादुर चौधरीले बताए ।
उक्त सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मा हरैया गाउँ समाजले लिएको छ ।
















