
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित वनखेतमा रहेको शिव मन्दिर पुर्निर्माण गरिएको छ । वर्षौँदेखि अल्पत्रजस्तै रहेको स्थानीय शिव मन्दिर पुनर्निर्माणपछि पुनः उज्यालिएको छ ।
शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले तीन दशकपछि मन्दिरको पुनर्निर्माण गरिएको बताए । व्यवस्थापन समितिको पहल र स्थानीयको सहभागितामा मन्दिरको संरचना मर्मत, रंगरोगन तथा परिसर व्यवस्थापनको काम सम्पन्न भएको हो।

पूर्वपश्चिम राजमार्गसंगै जोडिएको यो मन्दिरको उचित संरक्षण नहुँदा जीर्ण बन्दै गएको थियो। मन्दिरमा छाना मर्मत, भुँइमा टायल, मार्बल, नयाँ रंगरोगन, परिसर सरसफाइ तथा भरान गर्नुका साथै मन्दिरमा भगवानका मुर्तिहरु पनि नयाँ ल्याएर प्राण प्रतिष्ठा गरिएको उनले बताएका छन्। त्यस्तै शौचालय बनाउने, स्नान गृह निर्मार्ण गर्ने तथा पर्खाल लगाउने काम शिवरात्री पछि गर्ने व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताएका छन् ।
“हामी पुस १३ गते व्यवस्थापन समितिमा आएपछि मन्दिर पुर्ननिर्माणको काम सुरु गरेका हौँ, उनले भने, मिन्दिरमा छाना मर्मत गरेउँ, भुँइमा टायल, मार्बल लगाएका छौँ, भित्ताहरूमा नयाँ रंगरोगन, परिसर सरसफाइ तथा भरान गरेका छौं र भगवानका मुर्तिहरु पनि सबै टुटफुट भएको अवस्थामा रहेकोले नयाँ मुर्तिहरु ल्याएर तीनदिन देखि प्राण प्रतिष्ठा गरेका छौँ ।, शौचालय बनाउने, स्नान गृह निर्मार्ण गर्ने तथा पर्खाल लगाउने काम शिवरात्री पछि गर्छौँ ।”

दुई विघा ८ कठ्ठा जमिनमा फैलिएको यो मन्दिरसंग आफ्नै ४७ वटा सटरहरु रहेका छन् । तर झण्डै १२ वर्षदेखि भाडामा दिइएका ति सटरहरुको भाडा समेत उठेको नदेखिएको उनले बताए । आवश्यक संरक्षण अभावका कारण कमजोर बन्दै गएको संरचनालाई सुरक्षित र आकर्षक बनाइएको छ ।
यस वर्षको महा शिवरात्रीको अवसर पारेर आज मन्दिरमा विशेष पूजाआजा, तथा भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।
मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक एकताको प्रतीकसमेत भएकाले यसको संरक्षण र विकास अपरीहार्य रहेको भन्दै आफूहरुले दाताहरुबाट सहयोग लिएर पुननिर्माणको कार्य गरेको खड्काले बताएका छन्।
गोदावरी नगरपालिकाले ४८ टिप्पर भरान हालेर सहयोग गरेको र गत पुस महिना यता दाताहरुको स्व स्र्फुत सहयोगमा करिब २२ लाख भन्दा बढी रकम बराबरको काम मन्दिर परिसरमा भएको उनले बताए।
मन्दिरको जमिन अतिक्रमण भएको देखिएकोले जमिन फिर्ताका लागि पनि आफूहरुले प्रशाशनसंग सहयोग मागेको उनको भनाई छ ।
मन्दिर परिसरलाई थप सुरक्षीत र व्यवस्थित बनाउन चारैतिर पर्खाल लगाउने योजना रहेके खड्काले बताएका छन् ।














