
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेमा अस्थाइ ट्राफिक प्रहरी पोस्टको उद्धघाटन गरिएको छ ।
नवनिर्मित उक्त दुई कोठे भवनको सोमबार (आज) एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले उद्धघाटन गरेका हुन् ।

उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदम बहादुर विष्ट,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही लगायत विभिन्न सुरक्षा निकायका प्रमुख,प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवल्दार विर बहादुर विष्टको पहलमा स्थानीयको सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।
सुर्योदय सामुदायिक वनले उपलब्ध गराएको जमिनमा निर्माण भएको भवनमा स्थानीयले जिन्सी तथा नगद गरी करिब ८ लाख ८१ हजारमा उक्त भवन निर्माण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी शाहीले बताएका छन् । भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
भवन निर्माणमा अहोरात्र खटिएर सहयोग संकलन गरेकोमा उनले स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवल्दार विष्टलाई धन्यवाद व्यक्त गरे ।
यसअघि भवन अभावमा स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी कर्मचारीहरु करिब ७ महिनादेखी वनले बाख्रा थुन्न निर्माण गरेको कटेरोमा बसेर सेवा प्रदान गर्दै आइरहेका थिए ।













