अत्तरियामा अनुमति बिना शिविर चलाएका जगत गुरुलाई प्रशासनले फर्कायो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा अनुमति बिना आयुर्वेदिक उपचार शिविर सञ्चालन गरेका जगत गुरु (शिवशक्ति बाबा)लाई प्रशासनले फर्काएको छ ।

विगत चार दिनदेखि विभिन्न स्वास्थ्य समस्याको समाधान गर्ने दाबी गर्दै उनले शिविर सञ्चालन गर्दै आएका थिए । शनिबारदेखि गोदावरी नगरपालिका-२ अत्तरिया स्थित नमस्ते होटलमा सुरु गरिएको उक्त शिविर सुरुवातमा निःशुल्क भनिए पनि पछि शुल्क लिन थालिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

nisarga

उजुरीपछि प्रशासनले शिविर सञ्चालनका लागि आवश्यक अनुमति कागजात माग गरेको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार शिवशक्ति बाबाले अनुमति पत्र देखाउन नसकेपछि शिविर बन्द गर्न निर्देशन दिइएको हो । उनलाई यसअघि नै प्रहरी चौकीमा बोलाएर अनुमति बिना कार्यक्रम सञ्चालन नगर्न भनिएको पनि प्रहरीले जनाएको छ ।

प्रशासनका अनुसार शिविरमा औषधिको उच्च मूल्य लिएको तथा प्रवेश शुल्कसमेत उठाइएको गुनासो आएको थियो । शिविर सञ्चालन भइरहँदा होटल बाहिरसम्म सेवाग्राहीको भीड लागेको थियो ।

चैत १४ गतेसम्म सञ्चालन गर्ने योजना रहेको उक्त शिविर प्रशासनको निर्देशनपछि मंगलबार नै बन्द गरिएको हो । शिवशक्ति बाबाले यसअघि पनि कैलालीको सुक्खड क्षेत्रमा यस्तै प्रकारको शिविर सञ्चालन गरेका थिए ।