
धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त आहार र उचित व्यवस्थापन अभावले गौशालामा रहेका गाईहरूको नाजुक अवस्था देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गाउँपालिकाले यसतर्फ विशेष चासो दिएको हो ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरका अनुसार सडक दुर्घटना न्यूनीकरण र किसानको बालीनाली जोगाउने उद्देश्यले पालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । तर, गौशाला सञ्चालक समितिबाट प्रभावकारी व्यवस्थापन हुन नसकेपछि अब गाउँपालिकाले आफैं प्रत्यक्ष रूपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पालिकाले प्रदेश सरकारसँग समन्वय गरी गौशालामा तीन वटा ठूला आधुनिक ट्रस निर्माण, गाईलाई सहज रूपमा घाँस खानका लागि डुँड निर्माण, मूत्र सङ्कलन तथा मल भण्डारण कक्ष जस्ता पूर्वाधार तयार गरिसकेको छ । साथै खानेपानीका लागि बोरिङ जडान र सुरक्षित घेराबारको व्यवस्था पनि गरिएको छ ।
पूर्वाधार निर्माण भए पनि व्यवस्थापन पक्षमा कमजोरी र नियमित अनुगमन अभावका कारण पशु स्याहारमा समस्या देखिएको अध्यक्ष कुँवरले स्वीकार गर्नुभयो । उहाँका अनुसार अब गौशालालाई नमुना केन्द्रका रूपमा विकास गर्न हालको व्यवस्थापन समिति खारेज गरी गाउँपालिकाले प्रत्यक्ष सञ्चालन र निगरानी गर्नेछ ।
यसका लागि गौशालामा प्रयोग हुने छुट्टै ट्याक्टर, ट्रली र हैरोको व्यवस्था गरिनेछ । साथै समयमै आहार उपलब्ध गराउने, पशु चिकित्सकबाट नियमित स्वास्थ्य परीक्षण गर्ने र गौशालाभित्रै उन्नत जातको घाँस खेती गरी वर्षभरि आहार सुनिश्चित गरिने योजना रहेको छ । गाउँपालिकाले आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्ने बताएको छ । साथै आफ्ना पशुहरू बेवारिसे रूपमा सडकमा छाड्ने किसानलाई पहिचान गरी दण्डित गर्ने कडा नीति पनि लागू गरिनेछ ।हाल उक्त गौशालामा २४० गाई रहेका छन् ।
















