
अत्तरिया – भाद्र १० गते भोटेकोशी, रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि भारतका विभिन्न सहरमा कार्यरत नेपाली युवाहरूले आर्थिक सहयोग गरेका छन्।
प्रवासमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आएका युवाहरूको समूहले प्रधानमन्त्री राहत कोषमा १२ हजार ४४० रुपैयाँ सहयोग गरेको हो। विपद्को समयमा राज्य र प्रभावित नागरिकलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने भावनासहित उक्त रकम सहयोग गरिएको बताइएको छ।

समृद्धि युवा बचत समूहका अध्यक्ष तपराज बिष्टले समूहका पदाधिकारी तथा सदस्यहरूको सहकार्य, सद्भाव र सल्लाहअनुसार प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको जानकारी दिए।
अध्यक्ष बिष्टले आफ्नो सहयोग रकम सानो भए पनि बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि केही राहत पुग्ने विश्वास व्यक्त गरे। उनले विपद्को समयमा राज्यले गरेको अपिललाई सबै नागरिकले आफ्नो दायित्वका रूपमा लिएर सक्दो सहयोग गर्नुपर्ने बताए।
“हामी जहाँ रहे पनि देश र देशवासीप्रतिको माया र जिम्मेवारी उत्तिकै हुन्छ। हाम्रो सानो सहयोगले पनि विपत्तिमा परेका परिवारलाई केही राहत पुग्छ भन्ने विश्वासका साथ सहयोग गरेका हौँ,” अध्यक्ष बिष्टले भने।
उनले समूहले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आफूहरूले गर्न सक्ने सहयोगलाई निरन्तरता दिने बताए।
पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था र समूहले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्दै आएका छन्। सरकारले समेत विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ।















