
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडा स्थित अत्तरिया–महेन्द्रनगर सडकखण्डमा गएराति स्कारपियो दुर्घटना हुँदा चालक घाइते भएका छन्।
महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको स्कारपियो गएराति करिब १ बजे आफैं अनियन्त्रित भई सडकको उत्तरपट्टि रहेको नालीमा पल्टिँदा दुर्घटना भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक टेक जोराका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका–३ बिशालनगर निवासी २३ वर्षीय चालक गणेश बहादुर बोहरा घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको छ। दुर्घटनामा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चौकिडाँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार आफन्तलाई पुरयाएर फर्किने क्रममा दुर्घटना भएको हो। उक्त समयमा गाडीमा चालक मात्रै सवार रहेका थिए।















