
अत्तरिया – कैलालीको गोदावरी-५ स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुने भएको छ ।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले आवश्यक सम्पूर्ण तयारी पूरा गरी पढाइ सुरु गर्ने निर्णय गरेको हो।

उपकुलपति सुनीलकुमार जोशीका अनुसार अध्यापन सञ्चालनका लागि झण्डै एक दर्जन नियमावली तयार भइसकेका छन् र ती छिट्टै पारित हुने प्रक्रियामा रहेका छन्।
विश्वविद्यालयले पहिलो चरणमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। प्रस्तावित सिट संख्या अनुसार एमबीबीएसमा ५०, नर्सिङमा ३०, बीएस्सी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० विद्यार्थी भर्ना गरिने जोशीले बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ भने चालु आर्थिक वर्षको जेठ–असारका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ।
आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग अर्थ मन्त्रालयमा पेश गरिएको छ। विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई हालको १०० शय्याबाट ३०० शय्यामा स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ।
सिनेट बैठकले थप चार जना (दुई महिला र दुई पुरुष) सदस्य मनोनीत गरे पनि नाम सार्वजनिक गरिएको छैन। यसअघि संघीय राजधानीमा हुँदै आएका बैठकहरू पहिलोपटक कैलालीको गेटामा आयोजना गरिएको हो।
ऐनअनुसार विश्वविद्यालय सभा सर्वोच्च निकाय हो, जसमा शिक्षामन्त्री अध्यक्ष रहने व्यवस्था छ भने स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोग का अध्यक्ष, चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने प्रावधान छ।
यस्तै, अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये हेमराज पन्तलाई पनि सदस्यमा मनोनीत गरिएको थियो। विज्ञ समूहबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल र प्रा.डा. संगीताराज भण्डारी सदस्य रहेका छन्। विश्वविद्यालय सभाको बैठक कम्तीमा चार महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था रहेको छ।















