
धनगढी – धनगढी उप–महानगरपालिका ले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको ऐतिहासिक खुटिया सिँचाइ योजना पुनः सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष औपचारिक रूपमा माग तथा सिफारिस गरेको छ।
उप–महानगरपालिकाले मन्त्रालयलाई पठाएको पत्रमा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका लगायतका क्षेत्र समेटिएको खुटिया सिँचाइ योजना लामो समयदेखि निष्क्रिय (Defunct) अवस्थामा रहेको उल्लेख गरिएको छ। योजनाअन्तर्गत निर्माण गरिएका नहर, हेडवर्क्स तथा अन्य संरचनाहरू हाल प्रयोगविहीन बन्दै गएको र कतिपय स्थानमा जीर्ण समेत भएको जनाइएको छ।

पत्रमा विगतमा ठूलो लगानीमा निर्माण गरिएको सिँचाइ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नरहेकाले कृषिमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। भूमिगत जलस्रोतमा कमी आउँदै गएको, खेतबारीमा पानीको अभाव देखिएको र किसानहरू सिँचाइ समस्याबाट प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै योजना पुनःस्थापनाको आवश्यकता औंल्याइएको छ।
धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल द्वारा हस्ताक्षरित पत्रमा खुटिया सिँचाइ योजनाका संरचनाहरूको मर्मत, सुधार तथा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न मन्त्रालयसँग आग्रह गरिएको छ।
उप–महानगरपालिकाले योजना पुनः सञ्चालनमा आएमा कृषि उत्पादन वृद्धि, पानी व्यवस्थापनमा सुधार र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।















