
इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिको बाँकी समयका लागि पूर्णरूपमा खुला रहने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मा जारी वक्तव्यमा उनले लेबनानमा भएको युद्धविरामसँग समन्वय गर्दै स्ट्रेट अफ हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन बाँकी युद्धविराम अवधिभर पूर्णरूपमा खुला गरिएको बताएका हुन्।

उनले इस्लामिक गणतन्त्र इरानको बन्दरगाह तथा समुद्री संगठनले यसअघि नै सार्वजनिक गरेको समन्वित मार्गअनुसार जहाज सञ्चालन हुने पनि स्पष्ट पारे।
यसअघि इरानले फेब्रुअरीमा अमेरिका-इजरायलको आक्रमणको प्रतिक्रिया स्वरूप विश्वकै व्यस्त तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द गरेको थियो। त्यसपछि यसै साताको सुरुआतमा अमेरिकाले हर्मुज नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो।
गत अप्रिल सातको मध्यरातमा अमेरिका र इरानबीच १५ दिने युद्धविराम घोषणा भएको थियो । पाकिस्तानको मध्यस्थतामा उनीहरूबीच युद्धविराम भएको थियो ।
युद्धविरामको अवधिमा पाकिस्तान, अमेरिका र इरानका त्रिपक्षीय प्रतिनिधिमण्डलबीच वार्ता समेत भएको थियो । वार्ताले कुनै परिणाम निकाल्न सकेन । उक्त वार्ता असफल भएसँगै इरान र अमेरिकाबीच सहमति कायमका लागि पाकिस्तान पुन: सक्रिय छ । पाकिस्तानका प्रतिनिधिमण्डल इरान पुगेका छन् ।
दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यसैबीच यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी सार्वजनिक भएको छ ।
विश्वको कूल आपूर्तिको २० प्रतिशत हिस्सा होर्मुजबाट हुँदै आएको छ । युद्धका कारण इरानले होर्मुज अवरोध गर्दा विश्वव्यापी रुपमा इन्धनको भाउ आकाशिएको अवस्था छ ।
यो स्थिति जारी रहेको खण्डमा विश्वको आर्थिक वृद्धिमा २ प्रतिशतले ह्रास आउने विवरण अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको थियो । आईएमफले विश्वले आर्थिक मन्दी खेप्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएको थियो ।

















