हुम्लाबासीको आक्रमणबाट घाइते बाजुराका चार जनाको हेलिकप्टरबाट उद्धार

Image
maya metro

धनगढी – जेठ ३ गते हुम्लाबाट आएका व्यक्तिबाट कुटपिटमा परेका बाजुराको हिमाली गाउँपालिका-३ का वडा सदस्यसहित चार घाइतेको बुधबार उद्धार भएको छ। कुटपिटमा परेर सख्त घाइते भएकाहरूलाई उपचारका लागि सुर्खेत हुँदै काठमाडौँ लैजान लागिएको हो।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा प्रहरी चौकी निर्माण विरुद्ध उत्रिएका हुम्लाको खार्पुनाथ-२ थलीबाट आएका करिब तीन सय जनाको समूहले वडा सदस्य पेमा गारा गुरुङसहितलाई निर्घात कुटपिट गरि घाइते बनाएका हुन्।

nisarga

उक्त घटनाका चार जना घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

बुधबार दिउँसो १ बजे सिम्रिक एयरको हेलिकोप्टर मार्फत दुलिङ क्षेत्रबाट घाइतेहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
उनका अनुसार उद्धार गरिएकामध्ये पेमा गारा गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, मिनु कुँवर र हुम्लाका ५० वर्षीय नरबहादुर गुरुङ रहेका छन्।