
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन् ।
नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगर उपप्रमुख जुना चौधरी सहभागी भएकी थिइन् ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायतको उपस्थिति थियो ।
यसअघि नगर प्रमुख शाहीको अवरोधपछि अस्पताल उद्घाटन रोकिएको थियो । यसपटक पनि उद्घाटन नगर्न आग्रह गर्दै आएकी मेयर शाहीको विरोधका बीच प्रदेश सरकारले कार्यक्रम सम्पन्न गरेको हो ।
सम्भावित अप्रिय घटना रोक्न भन्दै अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो । नगर प्रहरीलाई भने नेपाल प्रहरीले ‘छेकबार’ लगाएको थियो ।
बाक्लो सुरक्षा व्यवस्थाका बीच अस्पताल उद्घाटनपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।















