फेरी रोकिँदा सामान ढुवानीमा सास्ती

Image
maya metro

बाजुरा – बाजुराको जगनाथ तथा स्वामीकार्तिकखापर पालिकाबिचमा कर्णाली नदीमा रहेको फेरी रोकिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा सास्ती भएको छ । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सहज बनाएको थियो ।

असार पहिलो सातादेखि कर्णाली नदीमा पानीको बहाब बढेसँगै फेरी सञ्चालन पनि रोकिएको थियो । फेरीबाट मान्छे मात्र नभई सवारीसाधनसमेत वारपार हुन थालेपछि पछिल्लो समय यहाँका स्थानीयलाई आवतजावतमा निकै सहज भएको थियो ।

nisarga

कर्णाली नदीमा राखेको फेरीले जगनाथबाट जिप ट्याक्टरलगायतका सवारीसाधनलाई वारपार गर्ने गरेको थियो । हिउँदभर चलेको फेरी रोकिएपछि स्वामीकार्तिक चल्ने सबै सवारीसाधन पिलीचौरमा नै रोकिने गरेका छन् । स्थानीयले दैनिक उपभोग्य सामग्री भरियामार्फत ढुवानी गर्ने गरेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका–२ का बासिन्दा नरबहादुर लुहार भन्छन्, “हिउँदमा गाडीमा सिधै सामान बोकेर घरमा पुग्ने गरेको थियो । अहिले चार घण्टासम्मको भारी बोकेर पैदल हिँड्नु पर्छ । कर्णाली नदीमा पक्की पुल नहुँदा हिउँदमा चल्ने सवारीसाधन पारि नै रोकिन्छन् । हाम्रो थाप्लोमा नाम्लो छुट्दैन ।” पक्की पुल बन्यो भने प्रत्येक गाउँबस्तीमा बाह्रै महिना गाडी चल्न सहज हुने जिपचालक शेरबहादुर कार्कीले बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने, “पालिकाका अधिकांश वडा सडक सञ्जालको पहुँचमा छन् । हिउँदको महिना सबै वडामा गाडी पुग्छ । बर्खामा समय यहाँ चल्ने गरेका सबै गाडी पिलीचौरमा रोकिने गर्छन् । कर्णाली नदीमा पुल नहुँदा ती गाडी उतै रोकिने गरेका हुन् । कर्णाली नदीमा पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग पटक पटक माग गर्दै आइएको छ ।