
काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भागनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, देशका विभिन्न स्थानमा आइतबार (असार २८) मध्यमदेखि ‘भारी’सम्मको वर्षाको सम्भावना छ । केही स्थानमा ‘अति भारी’ वर्षाको समेत सम्भावना छ ।

आइतबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेशसहित कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
त्यस्तै, राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
“कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ,” विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
“कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थान तथा मधेस प्रदेशलगायत कोसी, वागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” विभागको पूर्वानुमान छ । साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा ‘अति भारी’ वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागले जनाएको छ ।














