
अत्तरिया – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० निवासी ४२ वर्षीया पारु सुनारको श्रीमान ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान–श्रीमतीबीच भएको विवादले उग्र रूप लिएपछि रणबहादुरले पारुमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी पारुलाई उपचारका लागि दोधाराचाँदनी नगर अस्पताल पुर्याइए पनि बिहीबार उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

डीएसपी रावतका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ। कुटपिटमा संलग्न आरोपित रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीयवासीका अनुसार पारुलाई अस्पताल लगिए पनि पर्याप्त उपचार नगराई बुधबार नै घर फर्काइएको थियो। दम्पतीबीच विगतदेखि नै पटक–पटक घरेलु विवाद र झगडा हुने गरेको स्थानीयको भनाइ छ।
प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घरेलु विवादपछि भएको कुटपिटकै कारण पारुको मृत्यु भएको देखिएको प्रहरीले बताएको छ।
















