
अत्तरिया – सैनिक आवासीय महाविद्यालय, तेघरीमा छुकछुके रोबोट कार्यशाला सम्पन्न भएको छ ।
भदौ ४ गतेदेखि सुरु भएको कार्यशाला भदौ ८ गते (आज) सम्पन्न भएको हो ।

विद्यार्थीहरूले आफैँ निर्माण गरेका रोबोटको प्रदर्शनसँगै रोबोट फुटबल प्रदर्शनीसहित समापन समारोह सम्पन्न गरिएको हो ।
रोबोट फुटबल प्रदर्शनीको उपाधी टिम च्याम्पियन्सले जितेको छ । टिम लिटिल इन्जिनियर र टिम च्याम्पियनबिच भएको खेलमा २-१ ले टिम च्याम्पियन विजयी भएको हो । विजयी टिमलाई ट्रफी समेत प्रदान गरिएको थियो ।
कार्यशालामा विद्यार्थी तथा शिक्षकहरू सक्रिय रूपमा सहभागी भई रोबोट निर्माण, समस्या समाधान तथा नवप्रवर्तनका विभिन्न चरणमा अभ्यास गरेका थिए ।
डिजाइनिङ, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन तथा सफ्टवेयर कन्ट्रोलसम्बन्धी ज्ञानलाई व्यवहारिक अभ्यासमार्फत सिकाउने कार्यशालाको मुख्य उद्देश्य रहेको विद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले बताए ।
विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासलाई समेत प्राथमिकतामा राखेको रानाको भनाइ थियो।
विद्यार्थी तथा शिक्षकहरूलाई उत्साहित गर्दै सिकाइको वातावरणलाई थप प्रेरणादायी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिष पन्तले बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक सिद्धेश्वर पन्तले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीलाई प्रविधिमैत्री भविष्यका लागि तयार पार्न सहयोग पुग्ने बताए ।
गोदावरी आविष्कार केन्द्रका निर्देशक शेखरराम साउँद कार्यशालाका प्रमुख प्रशिक्षक रहेका थिए ।
कार्यशालाको मुख्य आकर्षण ‘छुकछुके रोबोट’ हो ।
घरेलु स्तरमै निर्माण गर्न सकिने हिँड्ने रोबोटले फुटबलसमेत खेल्न सक्ने भएकाले विद्यार्थीहरूमा रोबोटिक्सप्रति थप रुचि र उत्साह बढेको छ ।














