
धनगढी – विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले सजाय तोकेर फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–८ का ३८ वर्षीय नन्दलाल राना थारु रहेका छन्।
त्यस्तै, अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएका गोदावरी नगरपालिका–१ का ३० वर्षीय नबिन बिष्ट पनि पक्राउ परेका छन्।
यसैगरी, बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका–१२ का ३९ वर्षीय पदमबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेस गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
















