
दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश भएको छ ।
जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका आठ जना अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छोड्न आदेश दिइएको हो ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले यस्तो दार्चुला जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश दिएको हो ।
उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ धरौटीमा छाड्न भनेको छ ।
यस्तै, प्रतिवादी खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ, नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
उच्च अदालतको आदेश औपचारिक रूपमा जिल्ला कारागार दार्चुलासम्म पुगेको छैन् । शुक्रबार फैसला भएकोले औपचारिक पत्र आउन केही ढिलाइ भएको हुनसक्ने कारागारले जनाएको छ ।
अदालतको पत्र आएपछि थुनामा रहेकाहरुलाई छाड्ने प्रक्रिया अघि बढाइने जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टले जानकारी दिएका छन् ।
सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
मृत्युअघि धामीले आफ्नो फेसबुक वालमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नामै किटान गरि आत्माहत्या गर्न बाध्य पारेको दाबीसहितको स्टाटस लेखेका थिए ।
सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी आत्माहत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो ।















