चार घण्टा मैदानमा बिताउने खेलाडीलाई आधारभूत सुविधाकै अभाव

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा अपराह्र हरेक दिन ४ बजेपछि खेलाडीहरु उपस्थित हुन्छन् ।

क्लबले वर्षौंदेखि विशेषगरी महिला खेलाडीलाई फुटबलमा सहभागी गराउँदै आएको छ । गाउँघरका किशोरी तथा बालिकाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूको प्रतिभा विकासका लागि क्लबले निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।

nisarga

तर महिला खेलाडीलाई खेलकुदमा अघि बढाउन सक्रिय रहेको यही क्लबको खेल मैदानमा भने खेलाडीका लागि आवश्यक आधारभूत सुविधाकै अभाव छ । मैदानमा शौचालय नहुँदा खेलाडीहरूले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।

खेल प्रशिक्षण तथा प्रतियोगिताका क्रममा खेलाडीहरू करिब तीनदेखि चार घण्टासम्म मैदानमै रहने गर्छन् । लामो समयसम्म मैदानमा बस्नुपर्ने भए पनि शौचालयको सुविधा नहुँदा विशेषगरी महिला खेलाडीलाई समस्या हुने गरेको छ । शौचालय जानुपर्ने अवस्थामा उनीहरूले मैदान छाडेर अन्यत्र जानुपर्ने बाध्यता छ ।

मैदानमा खेलाडीका लागि मात्रै होइन, प्रतियोगिता हेर्न आउने दर्शकका लागि समेत शौचालयको व्यवस्था छैन । सैपाल युवा क्लबले विभिन्न समयमा प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । खेल सञ्चालन भइरहेका बेला शौचालय आवश्यक परे आसपासका घर वा जंगल खोज्नुपर्ने अवस्था रहेको खेलाडीहरू बताउँछन् ।

क्लबकी महिला खेलाडी तृप्ति कापडीले खेल मैदानमा लामो समयसम्म प्रशिक्षण तथा प्रतियोगितामा सहभागी हुँदा शौचालयको अभावले आफूहरूलाई असहज हुने गरेको बताइन् । विशेषगरी महिला खेलाडीका लागि शौचालय अत्यावश्यक भए पनि अहिलेसम्म त्यसतर्फ कुनै पनि निकायले ध्यान नदिएको उनको भनाइ छ ।

‘हामी करिब तीन–चार घण्टासम्म खेल मैदानमा हुन्छौँ। त्यति लामो समय मैदानमा बस्दा शौचालय आवश्यक पर्छ । तर यहाँ शौचालय नै छैन । सम्बन्धित निकायले ध्यान नै दिने गरेका छैनन्, ’ कापडीले भनिन् । क्लबकी अर्की खेलाडी परिषा चौधरीले खेल मैदानमा भएको समयमा आफूहरुले जंगलमा गएर शौच गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

सैपाल युवा क्लबका अध्यक्ष रमेश बोगटीले धेरै ठाउँमा गरेको आग्रहपछि सानो चेन्जिङ रुम बनाउन सफल भए पनि शौचालय र खानेपानीका लागि सम्बन्धित निकायहरुमा पटकपटक आग्रह गर्दा समेत बजेट व्यवस्थापन हुन नसकेको बताए । ‘क्लब स्वयमसंग आर्थिक स्रोत नहुने र सम्बन्धि निकायमा आग्रह गर्दा सुनुवाइ नहुँदा क्लबको खेल मैदानमा आधारभूत सुविधा समेत निर्माण गर्न नसकिएको उनको भनाई छ ।

क्लब स्वयमसंग आर्थिक स्रोत छैन अन्य सम्बन्धित निकायले ध्यान नै दिने गरेका छैनन्, मैदानमा शौचालय नहुँदा खेलाडी तथा दर्शकहरुले समस्या खेप्नु परेको छ, उनले भने ।’ बजेट व्यवस्थापन गरेर मैदानको छेउमा बनाउन खोज्दा पनि डिभिजन वन कार्यालय धनगढीको टोलीले भत्काइदिएको उनको दुखेसो छ ।

महिला खेलाडीको सहभागिता बढाउन विभिन्न प्रयास भइरहेका बेला खेल मैदानमा आवश्यक शौचालय, खानेपनी लगायतका पूर्वाधार नहुनु दुःखद् भएको क्लबका प्रशिक्षक करण बोगटीले बताए । आफूले दैनिक करिब तीनदेखि चार घण्टा प्रशिक्षण गराउँदै आएको भन्दै उनले शौच गर्न जंगल जानुपर्ने बाध्यता रहेको बताए ।

त्यस्तै अर्का प्रशिक्षक राजेश साउँदले सम्बन्धित खेल मैदानमा आधारभूत सुविधा प्रदान गरिदिन सम्बन्धित निकायलाई आग्रह गरे । महिला खेलाडीलाई प्रोत्साहन त्यसै पनि चुनौती रहेको हुँदा आधारभूत सुविधा समेत मैदानमा नपाउँदा उनीहरु पलायन हुने खतरा रहने साउँदले बताए ।

उनीहरूले खेल मैदानमा अन्य संरचनासँगै महिला र पुरुष दुवैका लागि सहज हुने गरी शौचालय निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । क्लबले करिब ८० जना प्रशिक्षार्थीहरुलाई दैनिक फुटबल प्रशिक्षण दिँदै आएको छ ।