
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कैलाली क्षेत्र नम्बर-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खेमराज कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, सिँचाइ, सडक तथा पूर्वाधार विकासका विभिन्न योजना अघि बढिरहेको बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका–२ स्थित लोटस गल्लीमा पार्टीको नगर कार्यालय तथा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले क्षेत्रका विकासका मुद्दालाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका हुन् ।

उनले सुदूरपश्चिमको गौरवका रूपमा रहेको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिरहेको बताए ।
यसै वर्ष चारवटा विधामा पठनपाठन सुरु गर्ने तयारी रहेको र त्यसपछि हरेक वर्ष थप विधा सञ्चालन गर्दै करिब चारदेखि पाँच वर्षभित्र १८ वटा विधामा अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
कैलाली कञ्चनपुरमा विकराल रुपमा देखिएको छाडा चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका सांसदहरु एक ठाउँमा रहेको भन्दै उनले कृषि मन्त्री र प्रधानमन्त्रीसंग पनि आफूहरुले समस्या सुनाइसकेको उनले बताए ।
छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि बन्नेक्रममा रहेको र छिटै यो समस्या समाधान हुने उनले बताए । कैलाली क्षेत्र नम्बर ४ को तल्लो तटिय क्षेत्र गोदावरी र गौरीगंगामा सिँचाइको समस्या समाधान गर्न महाकाली सिँचाइ आयोजना तथा रानी जमरा–कुलरिया सिँचाइ आयोजनासँग यस क्षेत्रलाई जोड्ने सम्भावनाबारे अध्ययन गर्न आफूले सम्बन्धित निकायहरुलाई आग्रह गरेको पनि कोइरालाले बताए ।
त्यस्तै हरैया सेजको काम अगाडि बढाउन पनि सम्बन्धित निकायसंग घनिभुत छलफल भइरहेको उनको भनाई छ । हरैया औधोगिक क्षेत्रको काम अगाडि बढाउन सकेमा रोजगारी सिर्जना पनि हुने भएकोले आफूहरुले यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।
‘हरैया सेजको अवधारणालाई हामीले औधोगिक रुपमा विकास गर्न सकेउँ भने रोजगारीका अवसरहरु सिर्जना हुन्छन्, उनले भने, भौतिक पूर्वाधारले मात्रै कुनै पनि ठाउँको समग्र र सन्तुलित विकास हुन सक्दैन भन्ने हामीले बुझेका छौँ तर्सथ यसका बारेमा हामीले व्यापक छलफल गरिरहेका छौं । ’
कोइरालाले सडक तथा पुल निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए । कैलाली क्षेत्र नम्बर ४ मा मात्रै यसै वर्ष तीनवटा पक्की पुल निर्माण हुने दाबी गर्दै उनले भौतिक पूर्वाधारका बहुवर्षीय तथा दीर्घकालीन योजनालाई बजेटमा समावेश गरेर अघि बढाइएको बताए ।
उनका अनुसार आगामी पाँच वर्षमा देशभर करिब ४५ सय पक्की पुल निर्माण गर्ने लक्ष्य राखिएको छ । त्यस्तै हरेक जिल्लाका सदरमुकाम तथा पालिकाहरूलाई जोड्ने गरी पक्की सडक विस्तार गरी बाह्रै महिना सवारी चल्न योग्य सडक बनाउने उनले बताएका छन् ।
सम्भव भए देशभर करिब ८० प्रतिशत पक्की सडक निर्माण गर्ने लक्ष्य पार्टी र सरकारको रहेको उनले बताए । कार्यक्रममा कोइरालाले कृषि क्षेत्रमा देखिएको मल अभावको विषय समेत उठाए ।
कृषकले मलको अभाव भोगेको कुरा सरकारले नै स्वीकार गरेको भन्दै उनले समस्या समाधानका लागि विभिन्न प्रयास गरिए पनि तत्कालै पूर्ण रूपमा समाधान गर्न सफल हुन नसकेको बताए ।
त्यसैगरी उनले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरे । गत साउनमा मात्रै हालसम्मकै बढी ४१ लख सिलिन्डर देश भित्रिएको उनले बताए ।
ग्यास अभाव देखाउँदै खाली सिलिन्डर बोकेर सरकारको राजिनामा माग्दै गर्नेहरुकै गोदामबाट लुकाइएको अवस्थामा हजारौँ सिलिन्डर बरामद गरिएको कोइरालाको भनाई छ।
निजि अस्पतालहरुलाई सरकारले तिर्नुपर्ने रकम थुप्रिएको र स्वास्थ्य बिमामा देखिएका समस्याहरु समाधान गरी सो कार्यक्रमलाई निरन्तरता दिने उनले बताएका छन् ।
गोदावरी र गौरीगंगाबाट नयाँ चारचार वटा र चुरेबाट तीनवटा नयाँ पुलको माग संघिय भौतिक पुर्वाधार मन्त्रालयमा पेश गरेको प्रतिनिधि सभा सदस्य कोइरालाले बताएका छन् ।
अधुरा योजना र अलपत्र रहेका सडकहरुलाई पनि अगाडि बढाउने गरी आफूहरुले काम गरिरहेको कोइरालाले बताए । आफूहरु कमिसन र भ्रष्टाचारको खेलमा नरहने उनले दावी गरे ।
पार्टीको उदेश्य पवित्र र प्रष्ट रहेको भन्दै उनले कालो मन भएका व्यक्तिहरुका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नभएको उनको भनाई छ ।
जनताको बिचबाट अनुमोदित भएर आएका व्यक्तिहरु नै स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने पनि उनले प्रस्ट पारेका छन् ।















