
अत्तरिया – महान दार्शनिक लाओत्सेले भनेका छन्“हजार माइलको यात्रा पनि एउटा पाइलाबाट सुरु हुन्छ ।” ठिक त्यस्तै १० हजार रुपैयाँको लगानीबाट सुरु भएको डिल्लीराज जोशीको च्याउ खेती अहिले ४ करोड रुपैयाँ लगानीको व्यवसायमा विस्तार भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पढ्दै गर्दा उनलाई प्रकृतिवादले छोयो । त्यसपछि कृषि क्षेत्रमा के गर्न सकिन्छ भनेर खोज्दै जाँदा नेपालमा पनि सम्भावना भएको र अन्तराष्ट्रिय बजार पनि भएको च्याउ खेती उनलाई उचित लाग्यो ।

च्याउको तीन महिनाको एउटा साइकल हन्छ । त्यहि साइकल पूर्णरुपमा सिक्नका लागि काठमाडौंका च्याउ फार्ममा तीन महिना कामदारको रुपमा काम गरे । ‘सँधै कामदार मात्रै बन्ने उदेश्यचाँहि मेरो थिएन, म यहाँबाट फर्किएर मेरो व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने थियो । तीन महिनाको साइकल पूर्णरुपमा सिकेपछि यता आएर आफ्नो काम सुरु गरे’, उनले भने ।

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीका स्थायी बासिन्दा डिल्लीराजले २०६७ सालमा त्रिपुरा मसरुम एग्रो हर्वस नामक फार्मबाट करिब १० हजारको लगानीमा एउटा टनेलबाट खेती सुरु गरे । एक टनेलमा १०० पोका कन्या च्याउबाट आफूले च्याउ व्यवसायको सुरुवात गरको उनी बताउँछन् ।
अहिले १०० वटा जति टनेलमा क्षतिसहितको करिब ४ करोडको लगानी रहेको उनी बताउँछन् । सुदूरपश्चिमका नौ जिल्ला तथा बाँके र बर्दिया गरी ११ वटा जिल्लामा उनले उत्पादन गरेको च्याउ बिक्रि हुन्छ । कैलालीको हकमा च्याउ उत्पादन गर्ने मुख्य सिजन कार्तिकदेखि फागुनसम्म हो । यो सिजनमा करिब ५० जना सम्मले प्रत्यक्षरुपमा डिल्लीराजको च्याउ फार्ममा काम गर्छन् भने अफ सिजनमा ३५ जनासम्मले नियमित काम गर्छन् ।

उनले च्याउ उत्पादनको यो १६ वर्षे यात्रामा कन्या च्याउ मात्रै उत्पादन गरिहेका छन् । च्याउ उत्पादक किसान संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक र कृषि हाटबजार अत्तरियाका अध्यक्षसमेत रहेका उनी सिजनमा माग धानिए पनि अफ सिजनमा सुदूरपश्चिमको उत्पादनले बजारको माग पूरा गर्न नसकेको बताउँछन् ।
प्राविधिक रूपमा जटिल र खर्चिलो भएकाले धेरैजसो किसान च्याउ खेतीतर्फ आकर्षित हुन नसकेको उनको अनुभव छ । ‘प्राविधिक कुरा जानेमा मात्रै यो खेतीबाट सफलता पाउन सकिन्छ, आम्दानी लिन सकेन,प्राविधिक कुरा जानेन भने फेरि यसले व्यवसायीक रुपमा माथि उठ्न दिँदैन,’ उनले भने । किताबमा पढेको सुत्रका आधारमा मात्रै च्याउ खेती नर्गन उनी सुझाव दिन्छन् ।

‘किताबमा पढेको सुत्रका आधारमा मात्रै काम गर्दा यसबाट सफलता पाउन सकिँदैन, च्याउ खेती गर्न चाहने व्यक्तिले चलिरहेको फार्ममा कम्तिमा तीन महिना काम गरेर मात्रै आफू सुरु गर्दा सहज हुन्छ,’ डिल्लीराजले भने । केहि अनुदान दिए पनि कृषि क्षेत्रमा सरकार र सम्बन्धित निकायको ध्यान नपुगेको महसुस हुने गरेको उनी बताउँछन् ।
‘करोडौ लगानीका विभिन्न कृषि फार्महरुलाई सम्बन्धित निकायहरुले स्रोत केन्द्रकारुपमा विकास गर्न सक्नुर्पथ्यो तर हुन सकेको छैन’, उनले भने । २०७५ साल जेठमा आएको हुरीले फार्मका सबै टहरा उडाएपछि गोदावरी नगरपालिकाको कृषि शाखाले आफूलाई सहयोग गरेको उनले बताए ।

च्याउ उत्पादन सुरु गर्दाका दिनमा बजारमा उत्पादन र बिक्री गर्न मात्रै होइन, च्याउ खानसमेत उपभोक्तालाई सिकाउनुपर्ने अवस्था रहेको उनी सम्झिन्छन् । ‘त्यसबेला च्याउप्रति उपभोक्तामा पर्याप्त जानकारी र आकर्षण नभएकाले उत्पादन बजारमा लैजानु चुनौतीपूर्ण थियो,’ डिल्लीराजले भने ।
सुरुवाती दिनमा एक किलो च्याउ बजारमा लैजाँदा ‘विषालु च्याउ ल्यायो’ भन्दै व्यापारी र उपभोक्ताबाट लखेटिनुपरेको अवस्थादेखि अहिले देशभरका च्याउ उत्पादकले वार्षिक करिब ४०–४२ अर्ब रुपैयाँको कारोबार गर्ने अवस्थासम्म आइपुगेको उनले बताए ।

कन्या च्याउ सिजनमा प्रतिकिलो २५०–३०० रुपैयाँ र अफ सिजनमा १००–१८० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । भदौ अन्तिम सातादेखि उनले अत्तरियास्थित कृषि हाट बजारमा च्याउ बिक्रि केन्द्रकारुपमा त्रिपुरा मसरुम एग्रो एण्ड हर्वस पनि सञ्चालनमा ल्याएका छन् ।
कृषिजन्य उत्पादनहरुको वृद्धी र बजारीकरणका लागि आफू संधै प्रयासरत रहेको भन्दै च्याउ उत्पादक संघले च्याउ उत्पादन र बजारीकरणलाई मुख्य केन्द्रमा राखेर काम गरिरहेको उनको भनाई छ ।















