फूलबारीमा १५ शय्याको नगर अस्पताल उद्घाटन

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ। यसअघि आधारभूत स्वास्थ्य केन्द्रका रूपमा सञ्चालनमा रहेको संस्थामा आवश्यक पूर्वाधार थप गरी अस्पतालका रूपमा विकास गरिएको हो । सोमबार आयोजित कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरे ।

अस्पतालबाट पहिलो चरणमा बहिरंग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ । आगामी दिनमा आकस्मिक तथा अन्तरंग सेवा विस्तार गर्नुका साथै विशेषज्ञ चिकित्सकबाट उपचार उपलब्ध गराउने तयारी भइरहेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनका अनुसार हाल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको छ भने आवश्यकताअनुसार जनशक्ति थप्दै लगिनेछ।

nisarga

नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु उपमहानगरपालिकाको प्राथमिकता रहेको बताए। उनले फूलबारीको समग्र विकासका लागि नगर बस सेवा, घरघरमै पुगेर अपाङ्गता भएका नागरिकको स्वास्थ्य परीक्षण तथा सहायक सामग्री वितरण, नमुना विद्यालय सञ्चालन र मासिक वडा स्वास्थ्य क्लिनिकजस्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए।

अस्पताल सञ्चालनमा आएपछि विशेषगरी आर्थिक रूपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।