
महोत्तरी – विवाहित हिन्दू मैथिल महिलाले वरसाइत (वटसावित्री) पर्व मनाउँदै छन्। जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ।
सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ। जेष्ठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गर्ने विधान छ। औँसीका दिन निराहार व्रत बसेर बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा सामूहिक रूपमा ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर मनाइन्छ। यो पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदामा समापन गरिन्छ।

वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने धार्मिक विश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा छ। नयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ।
मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन्। यो पर्व मिथिलाका महिलाका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरको छ।
विवाहित महिलाले मनाउने यस पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अंग रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक ध्रुव रायले बताए।
रासस


















