
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा रहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्यधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरु सबैलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका क्रममा गम्भीर राजु चौधरीलाई आइसियूमा राखिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस्तै एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ।

‘आज बिहान शारिक व्याम अन्तरगत १० किलोमिटर दौड थियो, ९ जना बिहोस भएपछि अस्पताल भर्ना गरिएको हो’ सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने–‘अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।’
भाद्रमा नयाँ भर्ना भएका ९८ जना प्रहरी जवान सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणको दौरानमा छन् ।



















