स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सरसफाइ, उज्यालो र हरित अभियानलाई जोड दिएको उपमहानगरपालिकाले वडा नं. २ मा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज वडाध्यक्ष धर्मराज ओझाले उद्घाटन गरे ।

nisarga

धनगढीका अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोरलाई निःसंक्रमण गरी व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले बताए। उनले अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थित रूपमा सङ्कलन गरी केन्द्रमा व्यवस्थापन गरिने जानकारी दिए।

धनगढी उपमहानगरपालिकाले निःसंक्रमण नगरिएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गरेबापत प्रतिकेजी ६० रुपियाँ र निःसंक्रमण गरिएको फोहोर व्यवस्थापन गरेबापत प्रतिकेजी ३५ रुपियाँ शुल्क निर्धारण गरेको छ ।

उपमहानगरपालिकाले नेपाल सरकारको ऐन तथा कानुनअनुसार आफ्नै सवारीसाधनबाट फोहोर सङ्कलन गर्ने वातावरण शाखाका प्रमुख अशोक अवस्थीले बताए। उनका अनुसार सङ्कलित फोहोर केन्द्रमा ल्याएर पहिले सङ्क्रमणरहित बनाइने र त्यसपछि टिन तथा प्लास्टिकका रूपमा छुट्याएर व्यवस्थापन गरिनेछ ।

फोहोर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकालाई नेपालकै नमुना पालिका बनाउने अभियानअन्तर्गत सामुदायिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको काम अघि बढाइएको नगरप्रमुख गोपाल हमालले बताए। केन्द्र सञ्चालनमा आएपछि धनगढीका अस्पताललाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।

उनले भने, “एक सय शय्या भएका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र बनाउनुपर्छ । तर, साना अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र नभएका कारण फोहोर जथाभावी फालिएको पनि पाइएको थियो । अब सहज हुनेछ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा पनि हामी कडाइ गर्नेछौँ ।”

धनगढी उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा नमुना पालिकाका रूपमा चिनाउन सबैको सकारात्मक सहयोग आवश्यक रहेको नगरप्रमुख हमालले बताए।