काेराेना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

Image
maya metro

काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्।

उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे। ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछाैँ’, उनले भने।

nisarga

आज मात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म ११ हजार नौ सय ७४ जनाकाे सङ्क्रमणका कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दश लाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ।

मन्त्रालयका अनुसार खोप नलगाएका मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीर रूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ। बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ।

सरकारले लक्षित जनसङ्ख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन्। मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ।

सङ्क्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैँ खुला राख्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ। अहिले दैनिक एक हजारभन्दा बढीमा सङ्क्रमण देखिने गरेको छ।

रासस