
डोटी – डोटीमा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ। यातायात व्यवस्था कार्यालय डोटीले पहिलोपटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो।
डोटीमा सञ्चालन भएको लिखित परीक्षामा १४५ जना सहभागी भएको यातायात व्यवस्था कार्यालय डोटीका कार्यालय प्रमुख पूर्णबहादुर शाहले जानकारी दिए। उनका अनुसार डोटीमा कार र जीपका लागि ३६ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा २८ जना सहभागी भएका थिए। मोटरसाइकल र स्कुटरका लागि १३० जनाको बायोमेट्रिक भएकोमा ११७ जना सहभागी भएका थिए। परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी रहेको र भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरिने उनले बताए।

यता डडेल्धुरामा पनि आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन भइसकेको छ। दुवै जिल्लामा परीक्षा सञ्चालन भएसँगै प्रदेशका ७ को पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र लिन सहज हुनेभएको छ। यसअघि तराइका जिल्ला कैलाली र कञ्चनपुरबाट मात्रै लाइसेन्स वितरण हुनेगरेको थियो।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारी गर्ने अधिकार प्राप्त गरेको छ ।













