
अत्तरिया – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको गोदावरी नगरपालिकाका ५ विद्यालय छनोट भएका छन् ।
छनोट हुने विद्यालयहरुमा गोदावरी नगरपालिका – २ तेघरीमा रहेको कृष्ण आधारभूत विद्यालय, वडा नम्बर ३ मालाखेतीमा रहेको नवज्याती मावि, वडा नम्बर ४ बास्कोटामा रहेको राष्ट्रिय मावि, वडा नम्बर ६ बडेंहामा रहेको शैलेश्वरी मावि र वडा नम्बर ७ लालपुरमा रहेको चण्डेश्वरी आधारभूत विद्यालय रहेका छन ।

आइसीटी ल्याव स्थापना, दुई कोठे र ४ कोठे भवन निर्माणका लागि नगरपालिकाका ५ विद्यालय छनोटमा परेका हुन् ।
जसमध्ये कृष्ण आवि र चण्डेश्वरी आविमा आइसीटी ल्याव स्थापना हुनेछ भने शैलेश्वरी, नवज्योतीमा ४ कोठे विद्यालय भवन र राष्ट्रिय माविमा २ कोठे भवन निर्माण हुनेछ ।
आईसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।





















