
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका दुईओटा महिला विकास बहुउदेश्यीय सहकारीहरु बिच एकीकरण हुने भएको छ ।
वडा नम्बर २ मा रहेको जिवनज्योती महिला विकास बहुउदेश्यीय सहकारी सँस्था लिमिटेड र वडा नम्बर १२ मा रहेको प्रगति महिला विकास बहुउदेश्यीय सहकारी बिच एकीकरण हुने भएको हो । सोमबार जिवनज्योती महिला विकास बहुउदेश्यीय सहकारीको हल तेघरीमा दुवै सहकारी बिच एकीकरणको प्रारम्भीक भेला सम्पन्न भएको छ । भेलाले पौष २७ गतेदेखी एकीकरणको प्रकियामा जाने निर्णय गरेको हो । एकीकरण प्रारम्भीक भेलामा सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा प्रमुख अतिथी रहेकी थिईन् ।

उनले सहकारीहरुबिचको एकीकरणले समग्र सहकारी क्षेत्र नै सबल बन्ने बताईन् । लक्ष्य र उदेश्य एउटै भएका सहकारीहरुबिच एकीकरण हुँदा छरीएर रहेको सानोसानो पुजी एकीकृत हुने र पुजीको आकारका साथै व्यवशायीक क्षमता पनी बढ्ने बताईन् । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी उनले आफुहरुले ३÷४ वर्ष अघिदेखी नै प्रयास गरेको भएपनि सफल हुन नसकेको बताईन ।
‘३÷४ वर्ष अघिदेखी नै यहाँका ४ वटा महिला सहकारीहरुलाई एकिकरण गर्न ठुलो प्रयास ग–यौ, टोली नै बनाएर सहकारीहरु एकिकरण भएका स्थानमा भ्रमण पनि ग–यौ, तर सफल हुन सकेनौ’ उनले भनिन् ‘तर दुई वटा सहकारीहरु आज एक आपसमा एकीकरण हुन लागेका छन, यो राम्रो प्रयास हो, यसले सहकारीहरुलाई वृहत व्यवसायीक योजना बनाउनलाई सहयोग पुग्छ ।’एकीकरणको पक्रियामा आउन चाहने बचत तथा ऋण सहकारीहरुलाई समेत एकीकरणमा ल्याउन उनले आग्रह गरीन् । पछील्लो समय सहकारी धेरै भएको तर उदेश्य अनुरुप काम गर्न नसकेको उनको भनाई थियो । जिवनज्योतीकी अध्यक्ष पुनम कार्कीले दुवै सहकारीको एकीकरण प्रक्रियापछी सदस्यहरुलाई अझै गुणात्मक सेवा दिने बताईन् ।
पछील्लो समय सहकारीको एकीकरण अति आवश्यक भएकोेले आफुहरु उत्त प्रक्रियामा लागेको उनले बताईन् । जिवनज्योती सहकारीकी व्यवस्थापक क्षेत्रा साँउदले बलीयो संगठन निर्माण गरी सदस्यहरुलाई पनी दोहोरो ऋण लिन नपरोस भन्ने उदेश्य सहित एकीकरणको प्रक्रियामा जान थालेको बताईन् । त्यस्तै प्रगति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडकी व्यवस्थापक संगीता बडैलाले आफुहरुको सहकारी र्दुगम स्थानमा रहेका कारोबार गर्न समेत गाह्रो भएका कारण एकीकरणको प्रक्रियामा जान थालेको बताईन् । ओलानी क्षेत्रका पढेलेखेका महिलाहहरु अरु नै क्षेत्रमा जागीरमा समय दिने तर सहकारीमा अनपढ महिलाहरुमात्रै आवद्ध हुने हुँदा सँस्थागत कारोबार गर्न समेत आफुहरुलाई गाह्रो भएको उनले बताईन् ।
२०५९ सालमा स्थापना भएको जिवनज्योतीमा मंसिर मसान्त सम्ममा २ हजार ७४९ जना शेयरसदस्यहरु रहेका छन भने २०५८ सालमा स्थापना भएको प्रगतीमा १ हजार १३ जना शेयरसदस्यहरु रहेका छन । जिवनज्योतीमा २ करोड २२ लाख ६० हजार ३०० रुपैया शेयर पुँजी रहेकामा प्रगतीमा ६९ लाख ६५ हजार ७०० रुपैया शेयरपुँजी रहेको छ । जिवनज्योतीको १३ करोड १२ लाख ६० हजार ९ सय ६ रुपैया निक्षेप संकलन रहेको छ भने प्रगतीको निक्षेप संकलन २ करोड ३७ लाख ५१ हजार ९४१ रहेको छ ।
जिवनज्योतिले ५१ लाख ४३ हजार ३५९ रुपैया शुद्ध नाफा कमाएकोमा प्रगतीले १ लाख ९९ हजार ८०१ रुपैया शुद्ध नाफा कमाएको छ । दुवै सहकारीहरुले मंसिर मसान्त सम्म २४ करोड ३९ हजार ६९३ रुपैयाको कारोबार गरेका छन । सहकारीहरुको एकिकरण कार्यकारीणी समितिको संयोजकका रुपमा जिवनज्योतीकी पुर्व अध्यक्ष सुमित्रा सोवलाई तोकिएको छ । सस्थाको नामाकरण,आर्थीक कारोबार,संयोजन,कार्यक्षेत्र विस्तार कर्मचारी संयोजन चल अचल सम्पती संयोजन,सेवा केन्दै स्थापना तथा व्वस्थापनका विषयमा पौष २७ गते विस्तृत छलफल हुने जनाईएको छ ।















