
अत्तरिया – बिहान साढे चार बजे उठेर नित्यकर्म,सन्ध्या पूजा,आरती,वेद पाठ संगै ध्यान र योगा गरेर दिनको सुरुवात गर्नु गोदावरी गुरुकुल संस्कृत विद्यापीठका वटुकहरुको दैनिकी हो । सात बजेभित्र खाजा पनि खाइसकेपछी उनीहरु वेद आदी अध्ययन गर्दछन् । एघार बजेबाट नियमित कक्षा सुरु हुन्छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत गोदावरी धाममा रहेको यो गुरुकुलमा सुदूरपश्चिमका नौ ओटै जिल्लाका ३० जना वटुकहरु अध्ययनरत छन् ।
९ कक्षासम्म पढाई हुने यो गुरुकुलमा वटुकहरुलाई अध्यापन गराउन चार जना गुरुहरु कार्यरत रहेका छन् । गोदावरी गुरुकुल संस्कृत विद्यापीठ गोदावरी धाम विकास समितिले २०७३ सालमा स्थापना गरेको हो । गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकुल शिक्षाका रूपमा बुझिन्छ ।

पछील्लो समय गुरुकुलमा अध्ययन गर्ने प्रचलन न्युन हुँदै गएपनि गुरुकुल शिक्षाबाट प्राप्त हुने ज्ञानले व्यक्तिलाई असल मान्छे बन्नका साथै संस्कृत र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने गोदावरी गुरुकुल संस्कृत विद्यापीठका प्रधानाध्यापक (आर्चाय) पदमराज उपाध्यायले बताए । “अनुशासन,संस्कार,व्यवहारीक ज्ञान त छँदै छ त्यो संगै संस्कृत र संस्कृतिको संरक्षणमा पनि गुरुकुल शिक्षाले जोड दिँदै आएको छ,उपाध्यायले भने राष्ट्रप्रेमी र सभ्य नागरिक उत्पादन गर्नु गुरुकुल शिक्षाको उदेश्य हो ।” संस्कृत शिक्षाको अभावमा विश्वमा पछील्लो समय विविध नकरात्मक घटनाहरु वृद्धी भएको उपाध्यायको भनाई छ ।
गुरुकुलमा अध्ययन गर्ने वटुकहरुलाई अनुशासित बनाई संस्कार,संस्कृति, र धर्मशास्त्रको ज्ञान दिइने उपाध्यायले बताए । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारबारे गुरुकुलमा सानै उमेरदेखी सिकाइ हुनेहुँदा जिवनमा प्रभावकारी हुने उनी बताउँछन् । गोदावरी गुरुकुलमै अध्ययन गरेका निस्कीएका एक विद्यार्थी वडा सचिवका रुपमा कार्यरत रहेका छन् भने अन्य विद्यार्थी अध्ययन कै क्रममा छन् ।
गुरुकुलका विद्यार्थीलाई अङ्ग्रेजी, गणित र नेपालीका साथै कम्प्युटर विषय पनि अध्यापन गराउँदै आईएको छ । अङ्ग्रेजी, गणित,नेपाली र स्थानीय (हाम्रो गोदावरी) अनिवार्यमै रहेका छन् । गुरुकुलका वटुकहरु विज्ञानको सट्टामा वेद,सामाजिकको सट्टामा कर्मकाण्ड र नितिशास्त्र तथा स्वास्थ्यको सट्टामा संस्कृत व्याकरण अध्ययन गर्दछन् । कम्प्युटर विषय ऐच्छीकका रुपमा रहेको छ । यस बाहेक रुद्री,चण्डी,लगायत पूजापाठका लागि चाहिने शिक्षा अनौपचारिक रुपमा गुरुकुलले प्रदान गर्दै आएको छ ।

“नेपाल सरकारको निति,नियम,मापदण्ड बमोजिम अध्यापन हुँदै आएको छ,प्रधानाध्यापक उपाध्यायले भने अन्य विद्यालयभन्दा गुरुकुलमा संस्कृत, वेद र धर्मशास्त्रको पढाइले अन्तर छ,भने खानपान,लवाइखवाइ,रहनसहन र आनीबानीमा पनि भिन्नता छ ।” वटुकहरुलाई व्यस्त राख्न कृषि फुलबारी,बोटबिरुवामा मलजल तथा हेरचाहको जिम्मा दिइन्छ । गुकुलमा कक्षा नौ मा अध्ययनरत वटुक हरिष भट्टले गुरुकुलको पढाइ आफुलाई उत्तम लाग्ने गरेको बताए । बैतडीका भट्टले कक्षा ६ देखी ८ सम्म डडेल्धुराको उग्रतारा गुरुकुलमा अध्ययन गरेर यसैपाली मात्रै यहाँ आएका हुन् ।
गुरुकुल सञ्चालनका लागि दाताकै भर
गुरुकुल सञ्चालनका लागि भने समितिले दाताकै भर पर्नु परेको छ । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले आम्दानीको निश्चित स्रोत नहुँदा गुरुकुल सञ्चालनका लागि दाताकै भर पर्नु परेको बताए । केहि रकम स्थानीय सरकार मार्फत नेपाल सरकारले सहयोग गर्दै आएको छ । त्यस्तै महर्षी वैदीक फाउन्डेसनले सञ्चालनमा सहयोग गर्दै आएको छ ।
फाउन्डेसनले मासिक रुपमा ५५ हजार रुपैँया सहयोग गर्दा आफुहरुलाई निकै राहत भएको जोशीले बताए । त्यसबाहेक नेपाल सरकारका पूर्व स्वास्थ्य निर्देशक समेत रहेका गोदावरी ६ का बासिन्दा डाक्टर लक्ष्मीराज पाठकले गुरुकुलमा आवश्यक पर्ने पीठो सहयोग गर्दै आएको जोशीले बताए । “गुरुकुलको खानामा जतिपनि पिठो प्रयोग हुन्छ,त्यो सबै लक्ष्मीराज पाठकले बेहोर्दै आउनुभएको छ,जोशीले भने,कहिलेकाँहि व्यक्ति तथा संघ संस्थाले पनि लुगाकपडा लगायतका कुरामा सहयोग गर्ने गरेका छन् ।”
त्यस्तै अध्यापन तथा आवासका लागि भवनको समस्या रहेको जोशीले बताए । गत वर्ष गोदावरी नदीमा आएको बाढीले पढाई हुने टहरा बगाईदिएपछी अहिले वटुकहरु सुत्ने ठाँउमै अध्यापन पनि गराउनु पर्ने बाध्यता रहेको उनले बताए ।


















