शंकर आवि समायोजनको निर्णय किन भयो विवादित?

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको शंकर आधारभूत विद्यालय (आवि) लाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने गोदावरी नगरपालिकाको निर्णय विवादित बनेको छ ।

नगरपालिकाको सो निर्णयमाथी असन्तुष्टी जनाउँदै आएका वडा बासीले आज वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरे । दिउँसोभर वडा कार्यालयको नियमित कामकाज ठप्प रह्यो ।

nisarga

वडाबासीले नगर प्रमुखसंग गरेको छलफलका क्रममा कुनै ठोस निर्णय नभएपनि सेवाग्राहिलाई मार्का भएको भन्दै बेलुकीपख खोले ।

भएको के हो?

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो । विद्यालय समायोजनपछी उत्त ठाउँमा वडा कार्यालयको भवन बनाउने नगरपालिकाको तयारी थियो ।

विद्यालय समायोजन रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट दायर गरे । उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२)(ज),गोदावरी नगरपालिकाको शिक्षक व्यवस्थापन सम्बन्धि कार्यविधी,२०७८ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो लाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियोे ।

त्यसपछि स्थानीयले विद्यालय तत्काल सञ्चालन गर्न माग गरेका थिए । उनीहरुले वडा अध्यक्षको उपस्थितिमा अभिभावक भेला बोलाई विद्यालय तत्काल सञ्चालन गर्न माग गर्ने निर्णय गरेका थिए । उता सर्वोच्चको उक्त आदेशपछी हाल कुनै कदम नचाल्ने शिक्षा शाखा र नगर प्रमुख लगायत जनप्रतिनिधीको थियो ।

त्यसपछी उनीहरु आज र्यालीसहित वडा कार्यालय पुगेर तालाबन्दी गर्दै नगरपालिकामा जम्मा भए । कुनै ठोस निर्णय नभएपनि सेवाग्राहीको समस्या बुझेर तालाबन्दी खोलीएको स्थानीय भुवन भट्टले बताएका छन् ।

विद्यालय समायोजनको निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने कारण १५ दिनभित्र खुलाउन नगरपालिकालाई सर्वोच्चले आदेश दिएको हुँदा आफुहरु १५ दिन अब पर्खिने वडा बासीको भनाई छ ।

गोदावरी नगरपालिकाको शिक्षक व्यवस्थापन सम्बन्धि कार्यविधी,२०७८ दोस्रो संसोधन बमोजिम उत्त विद्यालय समायोजनको प्रक्रियामा गएको नगरपालिकाको शिक्षा शाखाको भनाई छ । आधारभुत तह (१—५) सञ्चालन गर्न ७५ जना विद्यार्थी हुनुपर्ने कार्यविधिमा व्यवस्था छ तर उत्त विद्यालयमा ५५ जना विद्यार्थीमात्रै रहेको रिर्पोट नगरपालिकामा पेश भएपछी समायोजन गरिएको शाखाले बताएको छ ।

आपसी सहमतिमा भर्नाको समयसिमा भन्दा १५ दिन बढी समय दिँदा पनि विद्यालयले कार्यविधि बमोजिम विद्यार्थी पुर्याउन नसकेपछी समायोजन भएको शाखाको भनाई छ । स्थानीयहरु भने विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत रहेको बताँउछन् ।

समायोजन गर्ने बेलामा अभिभावकसंग पनि कुनै प्रकारको समन्वय नगरेको स्थानीयको आरोप छ । तर शिक्षा शाखा भने कार्यविधी अनुसार व्यवस्थापन समिति अध्यक्ष,अभिभावक शिक्षक समितिका अध्यक्ष लगायतको सहभागिता र सहमतिमै पक्रिया अगाडि बढाईएको बताउँदै आएको छ ।

अन्तिम परिक्षा हुनुभन्दा अगाडि नै अभिभावक तथा विद्यार्थीहरुलाई “यहाँ त अब वडा कार्यालय बन्छ,यो स्कुल त घण्टेश्वरमा जान्छ” भन्ने हल्ला फैलाईएकोले पनि विद्यार्थी भर्ना न्युन भएको स्थानीयको जिकिर छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव भट्टले भने, “फाल्गुनकै महिनादेखी यहाँ वडा कार्यालय बन्ने हो भन्ने हल्ला फैलाईयो,त्यसपछी अभिभावक पनि ह्या यहाँ त वडा बन्ने हो रे,भर्ना गरेर के काम भन्न थाले सबै मिलेर विद्यालय हटाएर वडा बनाउने उदेश्य लिएका रहेछन् ।”

वडालाई कार्यालय बनाउन विद्यालयको जग्गा दिन पनि आफुहरु सहमत भएको उनको भनाई छ । त्यसैगरी नजीकै अर्को विद्यालय नभएकोले पनि साना बालबालिकालाई पढाईका लागि समस्या उत्पन्न हुने हुँदा विद्यालय कायम राख्नुपर्ने स्थानीयको माग छ ।

“५ सम्म पढ्ने बालबालिका भनेका धेरैमा १० वर्षका हुन्छन्,अहिले मर्ज गरिएको विद्यालयको दुरी साढे तीन किलोमिटर छ,ती बालबालिका कसरी साढेतीन किलोमिटर हिँडेर विद्यालय पुग्छन्,स्थानीय अरुण भण्डारीले भने ।”

घण्टेश्वर पुग्न बालबालिकाले खोला तर्नुपर्ने हुँदा केहि दिन अघि परेको पानीमा बालबालिकाहरु स्कुल नै नगएको उनले बताए । बालबालिकाले पढ्न पाउने हकको सुनिश्चितता गर्न नगरपालिकासंग वडा बासीको माग छ ।