साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

Image
maya metro

काठमाडौँ – दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

nisarga

​दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। तर खेलमा उत्पन्न तनावपछि खेल शुरु हुनासाथै सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै १० खेलाडीमा सीमित नेपाललाई खेलमा फर्काएकी थिइन्।

साम्बाले गोल गरेपछि जर्सी फुकालेर खुशीयाली मनाइन्। यसरी जर्सी फुकालेवापत उनले पहेँलो कार्ड खानु पर्‍यो।

त्यसपछि पनि नेपालले भारतमाथि दबाब दिएको भए पनि गोल थप्न सकेन भने भारतले पनि उसका कुनै पनि प्रयासलाई गोलमा परिणत गर्न सकेन।

दशरथ रंगशालामा साँझ शुरु भएको खेलको दोस्रो हाफमा तनाव उत्पन्न भएपछि खेल करिब १ घण्टा अवरुद्ध भएको थियो।

पहिलो हाफदेखि नै भारतीय खेलाडीमाथि नेपालले दबाब बनाएको थियो। दोस्रो हाफमा नेपालकी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडेपछि दर्शकले मैदानमा पानीका बोतल फालेका थिए। खेल हेर्न रंगशालामा करिब १६ हजार दर्शक पुगेका थिए।

यसपछि करिब १५ मिनेट खेल अवरुद्ध भयो। रेखा मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो।

गोल खाएको एक मिनेटपछि नेपालले गोल फर्काए पनि रेफ्रिीले मान्यता नदिएकाले खेल तनावग्रस्त बन्न पुग्यो। भारतीय टोलीले गोल गरेको खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु गरेपछि नेपालले गोल फर्काएको थियो।

तर भुटानी रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि तनाव उत्पन्न भयो र खेल अवरुद्ध हुन पुग्यो।

तर रेफरीले पहिलो हाफमा नेपालकी सावित्रा भण्डारीले भारतीय गोलपोष्टमा बल लगिरहेका वेला भारतीय खेलाडीको ह्याण्ड भए पनि दिएकी थिइनन्।