
काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमान्डु गुर्खाज भिड्दै छन्।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ। दुवै टिमका लागी यो लिग चरणको अन्तिम खेल हो । विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेको छ भने काठमान्डुको प्लेअफ सम्भावना जीवितै राख्न उसलाई यो खेल जित्नै पर्ने दबाब छ।

विराटनगरविरुद्ध जित हात पारे पनि प्लेअफ पुग्न उसले अन्य टिमको नतिजामा समेत भर पर्नु पर्नेछ।
अघिल्ला खेलमा चल्न नसककेका काठमान्डुका स्टेफन स्किनाजीले हिजो पोखराविरुद्ध ६० रनको योगदान गरेका थिए। उनी र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे। इरास्मसले अविजीत २५ रन प्रहार गरेपछि काठमान्डुले १३९ रनको लक्ष्य ३५ बल बाँकी छँदै पूरा गरेको थियो।
टिमले आज पनि विदेशी खेलाडीबाट यस्तै प्रदर्शनको अपेक्षा गरेको छ। कप्तान करण केसीले राम्रो बलिङ गर्दै आएका छन्।
यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको विराटनगरका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ। सान्त्वना जित सहित लिग समाप्त गर्ने विराटनगरको लक्ष्य हुनेछ।
कप्तान सन्दीप लामीछानेले बलिङमा अपेक्षित प्रदर्शन गर्ने नसक्दा विराटनगरले प्रतियोगिताभर उल्लेखनीय प्रदर्शन गर्न सकेन। पोखरा विरुद्ध उसका ओपनर तथा प्रभावशाली ब्याटर मार्टिन गप्टिल घाइते भएका थिए। उनी उपलब्ध नभए टिमलाई असर पर्न सक्छ।
लोकेश बमले लुम्बिनी विरुद्ध ७१ रनको अर्धशतकीय इनिङ खेले पनि उन्य खेलमा उनको ब्याट चल्न सकेको छैन। प्रतीश जीसीले प्रतियोगितभर आठ विकेट लिए पनि उनले अन्य खेलाडीबाट साथ पाउन सकेका छैनन्।
जारी एनपीएलमा काठमान्डुले ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक जोडेको छ। ऊ तालिकाको पाँचौं स्थानमा छ। समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ।
त्यस्तै आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।
त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ।
सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफमा स्थान बनाउन चाहन्छ। पोखरा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।
हिजो भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई हराएपछि विराटनगर र पोखरा बाहिरिएका थिए।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज सन्त्वना जित सहित प्रतियोगिता समाप्त गर्ने योजनामा छ। भुर्तेलको ब्याट प्रतियोगिताभर चलेन। उनले एक खेल बाहेक अन्य खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन्।
अर्कातर्फ सुदूरपश्चिमका सबै खेलाडी उच्च लयमा छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले अक्रमक ब्याटिङ गर्दै आएका छन्। तर पछिल्ला दुई खेलमा भने उनी सस्तैमा आउट भएका थिए।
विनोद भण्डारी र इसान पाण्डे लगायतका नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। उसका विदेशी खेलाडी पनि लयमा छन्। तर आशिफ शेखको ब्याट भने चलेको छैन। यो खेलमा पराजित भए पनि सुदूरको अन्तिम ४ मा पुग्ने सम्भावना जीवित नै रहने छ।
सुदूरपश्चिम ५ खेलमा ४ जित र १ हार सहित ८ अंक जोडेर दोस्रो स्थानमा छ। एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको पोखरा चार अंक सहित सातौं स्थानमा छ।















