धनगढीमा दुई लाख नगद सहित ९ जुवाडे पक्राउ

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झन्डै दुई लाख नगदसहित प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको होटल सोल्टीमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयको टोलीले बिहीबार राति साढे ११ बजे होटलमा छापा हानेको थियो ।

सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया पुजा खड्कासहितका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

nisarga

उनकाअनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालुसिंह धामी, पाटन नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र ऐर, डडेल्धुराको आलीताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरू गाउँपालिका–३ बस्ने ३७ वर्षीय ईश्वर पाण्डे, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर भण्डारी, दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल र कैलालीको गौरीगंगा–९ बस्ने ४१ वर्षीय लक्ष्मण खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद एक लाख ९७ हजार ६७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ । पक्राउ परेका ९ जनालाई नै नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।