
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कृषि तथा पशुपन्छी सम्बन्धि प्राविधिक सेवा छुट्टै भवनबाट सुचारु गरेको छ । वडा नम्बर- १ को कार्यालय नजिक अत्तरियामा निर्मित कृषि तथा पशुपन्छी सेवाको कार्यालय निर्माण गरि गोदावरी नगरपालिकालाई हस्तान्तरण भएपछि सोहि भवनबाट सेवा प्रदान गरिने भएको हो ।
उक्त भवनको एक कार्यक्रमका बिच सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् । हालसम्म सोहि भवन नजिकै रहेको टिनले छाएको सानो छाप्रोबाट नगरपालिकाले प्राविधिक सेवा दिँदै आएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि तथा पशु सेवा केन्द्रको भवनबाट कृषकहरुले सुलभ तथा सहज तरिकाले सेवा पाउने विश्वास व्यक्त गरे । स्थानका कारण उपचारमा समस्या हुँदै आएकोमा अब किसानलाई सहज हुने बताए ।

गोदावरी नगरपालिकाका पशु शाखा प्रमुख टेक बहादुर शाहुले अब प्रयोगशालासहितको प्राविधिकक सेवा प्रदान गर्न सकिने बताए । आजसम्म ठाँउ अभावका कारण माइनर सेवाहरु मात्रै प्रदान गर्दै आएकोमा अब मेजर सर्जिकल सेवा पनि सुचारु गरिने बताए । “हामीसंग ठाँउ अभाव थियो, साँघरो ठाँउबाट माइनर सेवाहरु मात्रै प्रदान गर्दै आएका थियौँ ।
अब मेजर सेवाहरु पनि सुरु गर्छौँ,” उनले भने । गोदावरी नगरपालिका अन्तरगतको पशु स्वास्थ्य सेवा केन्द्रले गोबर परिक्षण, सिएनटी जाँच (दुधको जाँच), घाउमा डे्रसिङ, प्लास्टर गर्ने लगायतका सामान्य जाँचहरु गर्दै आएको थियो । अब भने रगत परिक्षण सेवा, ब्याक्टेरिया कल्चर, सेन्सेटिभ टेस्ट (औषधीको काम गर्न सक्ने क्षमता) अल्ट्रासाउन्ड सेवा लगायत पोस्टमार्टम पनि हुने शाहुले बताए ।
आजसम्म यि सेवा लिन आउने किसानलाई धनगढी पठाउँदै आएकोमा अब यतैबाट प्रदान गरिने उनको भनाई छ । “पशुपन्छीको समस्या लिएर आउने अधिकांश किसानहरुलाई धनगढी पठाउनु पर्ने हाम्रो बाध्यता थियो, जुन खर्चिलो हुनुका साथै किसानको समय पनि बढी लाग्ने गथ्र्यो, दुरी टाढा भएकोले कतिपय नमूनाहरु सुरक्षीत रुपमा प्रयोगशालासम्म पुर्याउन पनि कठिन थियो अब अत्तरियामै यि सेवाहरु उपलब्ध भएपछि समस्या केहि न्यून हुन्छ,” शाहुले भने ।
यसका साथै औषधीहरु भण्डारण गर्न, फोहोर व्यवस्थापन गर्न र हलको व्यवस्था पनि भएकोले किसानहरुलाई तालिम प्रदान गर्न पनि सहज हुने उनको भनाई छ । कृषि र पशु दुवै किसानसंग सम्बन्धित भएकोले किसानहरुलाई पनि एकै ठाँउबाट सेवा लिन सहज हुने शाहुले बताए ।
नयाँ भवनमा प्रयोगशाला तथा सम्पूर्ण उपकरणहरु समेत भएकोले सेवा थप प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले आजैबाट नयाँ भवनबाट सेवा सुचारु गरिएकोे बताए । त्यस्तै कृषि शाखा प्रमुख नन्दी मल्लले पनि अब माटो परिक्षण, प्रांगारिक मल परिक्षण सेवा, बिउ परिक्षण सेवा,रासायनिक मल परिक्षण सेवा लगायतका थुप्रै सेवाहरु नगरपालिका आफैले प्रदान गर्ने बताइन् ।
नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तरगत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले मूल्य अभिवृद्धी कर बाहेक २ करोड ४२ लाख ३० हजार रुपैँयामा भवन निर्माण सम्पन्न गरेको हो ।














