
अत्तरिया – यु आकारमा चारैतिर भवन । त्यहि आकारमा छन् लिचीका बोट । तराईका जिल्लामा यो सिजन लिची फल्ने सिजन पनि हो । विद्यालय हाताभित्र पस्दै गर्दा लाग्छ कुनै बगैंचामा फलको स्वाद लिनको लागि पस्दैछौ । बोटमा लटरम्म फलेका छन् लिची । लिचीका तिनै घुइला बोटहरुमाथि चराचुरुङ्गीको चिरविर पनि उत्तिकै छ ।
यो दृश्य हो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित उत्तर वनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको । विद्यालयमा लिचीबाहेक आँप लगायतका फलफूलका बिरुवा पनि छन् । विद्यालयभित्र पस्ने जो सुकैले ओहो कस्तो हरियाली रहेछ भन्छन् । १६ जना शिक्षक कर्मचारीहरु कार्यरत यो विद्यालयमा करिब पाँच सय विद्यार्थीले भविष्यको रेखा कोरिरहेका छन् ।

यि बिरुवाहरु २०६५ सालमा विद्यालयको आन्तरिक श्रोतबाट रोपिएको विद्यालयका प्रधानाध्यापक नगेन्द्र योगीले बताए । बच्चाहरुलाई खान पनि हुने, शितल पनि हुने र सुन्दर पनि देखिने भएकोले बोटहरु रोपिएको उनले बताए । विद्यालय परिसरमा २० वटा लिचीका बोटहरु छन् भने केहि आँप र अशोक लगातका बोटहरु पनि छन् ।
केहि दिन अघि ५० किलोजति लिची टिपेर विद्यार्थीहरुलाई खुवाएको शिक्षक भूपेन्द्र चन्दले बताए । अचेल विद्यालयमा पाहुनाहरु आउँदा लिची उपहार दिएर पठाउने गरेको उनले बताए । बोटहरुमा चराहरुले गुँड पनि बनाएका छन् । विद्यालय परिसर हरियाली र सुन्दर छ । बाहिरी वातावरण जति सुन्दर र मनमोहक देखिन्छ विद्यालयका आन्तरिक समस्याहरु त्यतिनै जटिल रहेको प्रधानाध्यापक योगीले बताउँछन् । २०६२ सालमा स्थापित यो विद्यालयमा प्राय न्यून आयस्तर भएका परिवारका बालबालिकाहरु अध्ययन गर्छन् ।
अधिकांश बालबालिकाका आमाबुवा कामको खोजीमा भारततिर छन् भने कतिपय देशभित्रै भएपनि मजदुरी गर्न घरदेखि टाढा छन् । आमाबुवा टाढा हुँदा बालबालिकाले अभिभाकत्व गुमाउने र विद्यालयले मात्रै प्रयास गर्दा बच्चालाई लयमा ल्याउन गाह्रो हुने गरेको अनुभव २०६७ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका योगीसंग छ ।
विद्यालयमा भौतिक समस्याहरु पनि त्यतिकै छन् । जिर्ण भवनहरु छन्, पिउने पानी र शौचालयको पनि उस्तै समस्या छ । कक्षा कोठामा लगाइएका पङ्खाहरु घुम्दैनन् । १ विघा क्षेत्रफलमा रहेको यो विद्यालयमा यसवर्ष ५२ जना विद्यार्थी नयाँ भर्ना भएका छन् । विद्यालयमो कक्षाकोठाको अभाव छ ।
त्यसैमाथि केहिदिन अघि आएको हुरीले एउटा भवनको छानो उडाइदिँदा झनै समस्या थपिएको छ । “अस्ति आएको हुरीले एउटा भवनको छानो नै उडाइदिएको छ, निर्माणका लागि नगरपालिकामा आग्रह गरेका छौँ तर बनिसकेको छैन” प्रधानाध्यापक योगीले भने । विद्यालयसंग आर्थिक स्रोत केहि नहुने हुँदा योजनाहरु भएर पनि केहि गर्नै नसकिने अवस्था रहेको प्रधानाध्यापक योगीको भनाई छ ।














