अत्तरियामा डीडीसी प्रकरण : भेलामा उठ्यो हाकिमलाई थुन्नेदेखि कालोमोसो दल्ने विषय

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) धनगढी सार्ने विषय पेचिलो बनेको छ । गोदावरीका स्थानीयदेखि जनप्रतिनिधिहरुले नसार्न दवाव दिइरहेका छन् भने जसरी पनि सार्ने मनसाय डीडीसीको रहेको छ । नसार्न दवाव दिँदै स्थानीयले दिनहुँजसो विरोधका कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले जेठ ८ गते कार्यालयमा तालाबन्दी पनि गरेका छन् । उक्त तालाबन्दी अझै खुलेको छैन । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने भन्दै धनगढी सार्न नहुने माग राख्दै आएका छन् । बुधबार पनि स्थानीय र जनप्रतिनिधहरुले उक्त विषयमा छलफल गरेका छन् । छलफलमा बोल्ने अधिकाशंले डीडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराईप्रति आक्रोस व्यक्त गरेका छन् ।

nisarga

डीडीसीबारे बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकाले जगगा उपलब्ध गराउँदा गराउँदै पनि सार्न खोजे राम्रो नहुने बताए । उनले वडा नम्बर ४ मा रहेको सरकारी जग्गा उपलब्ध गराउन तयार छौँ भनेर मन्त्रालयमा पत्राचार गरिसकेको पनि उनले बताए । भट्टले तालाबन्दी पछि कार्यालय प्रमुख सम्पर्कमा नआएको पनि बताए ।

“कार्यालय प्रमुख अहिलेसम्म सम्पर्कमा आएका छैनन्, स्थानीय निकायमा आउनुपर्ने, सुरक्षा निकायमा आउनुपर्ने तर कतै सम्पर्क गरेको छैन प्रमुखले, त्यस्तो गैरजिम्मेवार पनि हुन्छ?” उनले भने । हाकिमले स्थानीयको जनभावन नबुझे थुन्नुपर्ने पनि उनले बताए । त्यस्तै स्थानीय विनोद विष्टले कार्यालय प्रमुख भट्टराईलाई कालोमोसो दलेर घुमाउने चेतावनी दिए ।

“जग्गा उपलब्ध गराउँदा गराउँदै जवरजस्ती सार्ने षडयन्त्र आयोजना प्रमुखले गरे कालोमोसो दलेर घुमाउन नपरोस्” उनले भने । त्यस्तै स्थानीय धर्मसिंह कुँवरले पनि भट्टराईलाई कालोमोसो दल्ने चेतावनी दिए । गत पुस १६ गते अत्तरियामा जग्गा नपाइएको भन्दै डीडीसी धनगढी सार्ने कुरा बाहिरिएको थियो त्यसपछि स्थानीयले निरन्तर विरोध जनाउँदै आएका छन् । पुस १७ गतेदेखि नै स्थानीयले डीडीसी कार्यालयमा पुगेर विरोध जनाउन सुरु गरेका हुन् ।

डीडीसीका लागि अत्तरियामै जग्गा खोज्ने भनेर पुस १७ गते गोदावरी नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा बसेको बैठकले नगर प्रवक्ता गोपालदत्त भट्टको नेतृत्वमा जग्गा खोज्न कार्यदल गठन गरेको थियो । त्यसपछि डीडीसीका लागि अत्तरियामा जग्गा खोज्न विभिन्न प्रयास गरिएको बताइए पनि अहिले सम्म जग्गाको टुङ्गो भने लाग्न सकेको छैन । नगर प्रमुख, यस क्षेत्रका प्रदेश सांसदसहित स्थानीयले अत्तरियामै केहि सार्वजनिक जग्गाको अवलोकन पनि गरेका थिए ।

डीडीसी कार्यालयकै छेउमा रहेको चाहना सामुदायिक वनले पनि थप जग्गा उपलब्ध गराउने भनेर निर्णय  गरिसकेको छ । जग्गाको सुनिश्चिता हुँदाहुँदै पनि सार्न खोजेको भन्दै आयोजना प्रमुखमाथि भ्रष्टाचारको आरोप पनि स्थानीयले लगाइरहेका छन् । अत्तरियामा २०६७ मा स्थापना भएको डीडीसी अहिले कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपियाँ भाडा तिरेर सञ्चालनमा रहेको छ ।

अत्तरिया, धनगढी, दिपायल, डडेल्धुरा र टीकापुरमा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको डीडीसीले हाल कैलाली सहित कञ्चनपुर तथा डडेल्धुराका गरि करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । डीडीसी अत्तरियामा ३० जनाले रोजगार पाएका छन् । गोदावरी क्षेत्रमा जग्गा उपलब्ध नभएको भन्दै डीडीसी धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने क्रममा रहेको छ ।

डीडीसीले उक्त कार्यका लागि धनगढी उपमहानगरपालिकासंग गत पुसमै सम्झौता गरिसकेको बताइएको छ । आजको भेलामा प्रदेश सभा सदस्य तुलसी देवकोटा, जानकी पौडेल कुँवर, नगर प्रमुख भट्ट, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रखुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द लगायत जनप्रतिनिधी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।