
अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीबाट सार्ने गृहकार्य भइरहेको समाचार बाहिरिएपछि गोदावरीमा हलचल सुरु भएको छ । जस अनुरुप गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बुधवार बिहान सम्पन्न भएको उक्त बैठकमा सुदूरपश्चिम प्रदेशका अर्थ विकास राज्यमन्त्री प्रकाश बहादुर बम, प्रदेशसभा सदस्यहरु तुलसी देवकोटा, खेमा देवी बिष्ट, जानकी पौडेल कुँवर, पूर्व मन्त्री कृष्णराज सुवेदी, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकाया, नगर सभापति बिर बहादुर चोखाल, नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश सदस्य गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज खम्ब बुढा, नगर अध्यक्ष सन्तोष सिंह, नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटी सदस्य मेघराज भट्ट, प्रदेश सदस्य एवम् नगर इन्चार्ज धर्मसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टलगायतको उपस्थिति रहेको थियो ।

बैठकमा सहभागी सबै राजनीतिक दलका अगुवा नेताहरू राजधानी गोदावरीमै स्थायी रूपमा निर्माण गर्नुपर्नेमा एकमत देखिएका छन् । उनीहरुले प्रदेश राजधानी गोदावरीमा कार्यान्वन एकजुट भएर सङ्घर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नगर प्रमुखको कार्यकक्षमा आयोजित बैठकमा बोल्दै नेकपा (माओवादी) केन्द्रका प्रदेश सदस्य एवम् गोदावरी नगर इन्चार्ज धर्मसिंह कुँवरले राजधानी सार्ने विषय निकै अगाडी बढीसकेको आफ्नो बुझाई रहेको बताए ।
गोदावरी राजधानी निर्माण गर्न विचौलियाहरु बाधक बनेको उनले बताए । यहाँबाट निर्बाचित सांसदहरुले राजधानी यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने विषयलाई प्राथमिकतामा नराखेको आरोप लगाए । राजधानी गोदावरीमा निर्माण गर्न कडा सङ्घर्ष गर्नुपर्ने परिस्थिति सिर्जना भएको र सो का लागि आफू तयार रहेको उनले बताए । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भट्टले पनि गोदावरीबाट राजधानी सार्नेमा आफूहरुको आपत्ति रहेको बताए । उनले अन्राष्ट्रिय सिमा क्षेत्रको हिसाबले पनि धनगढीमा उपयुक्त नहुने बताए ।त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले देशका अन्य प्रदेशका भवन निर्माण गरि मन्त्रालयहरु सञ्चालन भइरहेको अवस्थामा सुदूरपश्चिममा भने राजधानी सार्ने विषय सुदूरपश्चिमबासीका लागि र्दुदशा भएको बताए ।
तत्कालीन समयमा सञ्चारमाध्यमहरुले समेत गोदावरी राजधानी भाँड्न ठुलो भूमिका खेलेको उनले बताए । सुबेदीले क्षेत्र नम्बर ४ बाट निर्बाचित सांसद विर बहादुर बलायरले समेत गोदावरीमा राजधानी निर्माण गर्न दबाब दिनुपर्ने बताए । नेकपा (एमाले)का प्रदेश सदस्य गोकर्ण भट्टले गोदावरी राजधानी घोषणा गर्दा कांग्रेसले असहमति जनाएको हुँदा काँग्रेस निकट नेताहरुले यस्मा बढी जिम्मेवार हुनुपर्ने बताए । उनले संघीय सांसद बलायरले आफूले जिते ६ महिनामा गोदावरीमा राजधानी निर्माण गर्ने बाचा गरेको पनि सम्झाए । पार्टीभन्दा माथि उठेर गोदावरीमा राजधानी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको भट्टले बताए ।
त्यस्तै नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाले गोदावरीमा राजधानी बनाउन काँग्रेस प्रतिबद्ध रहेको बताए । आफूले काँग्रेस र काँग्रेसबाटै मुख्यमन्त्री बनेका कमल बहादुर शाहले समेत राजधानी सार्ने विषय औपचारिक रुपमा कहिँ बोलेको आफूलाई जानकारी नभएको उनले बताए । तोकिएको प्रदेश राजधानीलाई यसरी मनपरी रूपमा सार्ने प्रयास आफूहरुलाई मान्य नहुने उनको भनाई थियो ।
त्यस्तै चुरे गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापाले गोदावरी राजधानी बन्नुपर्ने विषयमा आफूहरुको एकमत रहेको बताइन् । प्रदेश सभा सदस्य खेमा देवी विष्टले राजधानी सार्ने निर्णय गोप्य रूपमा अघि बढाइएको बताइन् । यसैबारे छलफल गर्न मुख्यमन्त्रीले सर्वदलीय बैठक आयोजना गरे पनि आफूलाई जानकारी नै नगराएको उनले बताइन् । राजनीतिक स्वार्थमा परेर राजधानी सार्न लागिएकोले संसदमा यो विषय पेस हुनु अघि नै गोदावरीका जनता र जनप्रतिनिधिले यसबारे कडा सङ्घर्ष गर्नुपर्ने बताइन् । राजधानी धनगढी सार्ने विषयमा सडक र सदन दुवै ठाँउमा विरोध गर्न आफू रहेको उनले बताइन् ।
त्यस्तै अर्की प्रदेश सभा सदस्य जानकी पौडेल कुँवरले राजधानी सार्ने विषय औपचारिक रुपमा बाहिर नआएपनि भित्रभित्र कुरा चलिरहेको बताइन् । गोदावरीबाट राजधानी सार्न नदिन चाल्नुपर्ने कदममा आफ्नो संधै साथ रहने उनले बताइन् । हिजो दुई तिहाइले गोदावरी राजधानी तोकिसकेको हुँदा त्यहिँ राजधानी हुनुपर्ने आफ्नो अडान रहेको उनले बताइन् । कुँवरले आफ्नो संसदीय दलमा समेत गोदावरीबाट राजधानी सार्ने निर्णयमा हस्ताक्षर नगर्ने जानकारी गराइसकेको बताइन् ।
त्यस्तै उक्त सर्वदलीय बैठकमा आफ्नो भनाई राख्दै प्रदेश सभा सदस्य तुलसी देवकोटाले राजधानी सार्नेबारेमा आफूहरुलाई औपचारिकरुपमा कुनै पनि जानकारी नआएको बताइन् । दुई तिहाइले बहुमतले पहिले नै तोकिसकेको ठाउँमा राजधानी हुनुपर्छ र निर्माणका लागि बजेट पनि छुट्याउनुपर्छ भनेर आफूहरुले मुख्यमन्त्रीसंग जोडदार माग गर्ने देवकोटाले बताइन् । अर्थ विकास राज्यमन्त्री प्रकाश बहादुर बमले राजधानी सार्ने विषय आफूहरुलाई मान्य नहुने बताए । “जनताले हामीलाई दिएको मतको सम्मान गर्दै हामी प्रदेशको स्थायी राजधानी संरक्षणमा दृढ छौँ,” उनले बैठकमा भने ।
अहिले घोषणा गरेको ठाउँबाट राजधानी सार्न पनि दुई तिहाई चाहिने हुँदा बाहिर आएजस्तो सजिलो मुख्यमन्त्रीलाई नभएको उनले बताए । “ अहिले घोषणा गरेको ठाउँबाट एक इन्च सार्न पनि दुई तिहाई चाहिन्छ । त्यो प्रस्ताव संसदमा ल्याउन पनि कांग्रेस एमाले मिल्नुपर्छ अझै त्यसमा माओवादी र उन्मुक्तिको साथ चाहिन्छ । बमले भने त्यो भएर यो सार्ने प्रक्रियामा एमालेका पनि केही सांसदको जोडबल छ ।” राजधानी सरे सरकारमा भएका पार्टीहरु समान रुपमा जिम्मेवार ठहरिने उनले प्रस्ट पारे ।
बमले राजधानी गोदावरी मै हुनुपर्छ भनेर कैलाली क्षेत्र नम्बर –४ बाट निर्वाचित सांसदहरु सदनमा बोलेको जिकिर गरे । “म त सरकारको राज्यमन्त्री परे सदनमा सरकाको विपक्षमा बोल्न मिल्दैन अरु साथीहरू मज्जाले बोल्नु भएको छ । उनले भने, हामीलाई गाह्रो पनि छ मतदाताको भावनाको कदर गर्नुपर्ने पनि छ अनि पार्टीको निर्देशन पनि मान्नु पर्ने हुन्छ । भावनामा आएर पद छोड्दिन्छु, पाटी छोड्दिन्छु भन्न म सक्दिन । अहिले राजधानी धनगढी बन्ने प्रस्तावमा हस्ताक्षर गर्दिन भनेर बाचा त गर्थे तर भोलि पार्टीले नै ह्विप जारी गरे बाध्य हुन्छु, तर पहिलो प्राथमिकता गोदावरी राजधानी बनाउनु पर्छ भन्ने नै हुन्छ ।”
उनले केन्द्रिय सरकारले चाहने बित्तिकै राजधानी घोषणा गरिएको ठाउँमा भोगाधिकार प्राप्त हुने दाबी गरे । अहिलेसम्म भोगाधिकार नहुँदा र मुद्दा प्रक्रियामै रहेकाले राजधानी गोदावरीमा कार्यान्वयनमा आउन नसकेको उनको तर्क छ । बैठकमा बोल्दै नगर प्रमुख भट्टले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारे सबै पक्षसंग फेरि छलफल गर्ने बताए ।














